logo
२०८१ बैशाख १३ बिहीवार



बाँकेमा निको हुनेहरू बढ्दै, एकै दिन ७९ जना सङ्क्रमणमुक्त भएर फर्कँदै

फिचर |
प्रदेश |


बाँकेमा निको हुनेहरू बढ्दै, एकै दिन ७९ जना सङ्क्रमणमुक्त भएर फर्कँदै


सिराज खान
नेपालगञ्ज, भदौ ४ गते । बाँकेमा काेराेना सङ्क्रमणमुक्त  भएर घर फर्किनेहरूको सङ्ख्या बढ्दाे छ । बिहीबार मात्रै ७९ जना सङ्क्रमितले कोरोना जितेर घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार निको भएपछि २८ जनालाई बिहीबार बिहानै डिस्चार्ज गरेर घर पठाइएको छ भने तीजका कारण शुक्रबार डिस्चार्ज हुने सूचीमा रहेका ५१ जनालाई पनि बिहीबार साँझ डिस्चार्ज गरिने छ । उहाँले यसरी एकै दिन बाँकेबाट ७९ जना सङ्क्रमितहरू निको भएर घर फर्किने बताउनुभयो ।

श्रेष्ठका अनुसार लक्षण नदेखिएका र शुक्रबार समय पुग्ने ५१ जना सङ्क्रमितलाई चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यकर्मीको निगरानमा ८ दिन होम आइसोलेसनमा रहने गरी डिस्चार्ज गर्न लागिएको हो । बिहान डिस्चार्ज भएकाहरूमा प्रदेश ५ का सभासद कृष्णा केसी नमुना, होटल व्यवसायी लोकेन्द्र अर्याल, नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं. १३ र १८ का वडा सचिवसहित २८ जना छन् ।

यस्तै साँझसम्म डिस्चार्ज हुनेहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाललगायत रहनुभएको छ । निको भएर घर फर्किनुभएकी बाँके क्षेत्र नं.१ क बाट निर्वाचित प्रदेश सभासद कृष्णा केसी नमुनाले कोरोनालाई सहज रुपमा नलिन सबैसँग आग्रह गर्दै यसले निकै समस्यामा पार्न सक्ने भन्दै सचेत रहनु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले आफूलाई लक्षणसमेत देखिएकोले शुरुमा साह्रै गाह्रो भएको स्मरण गर्दै कोरोनाबाट जोगिन सजगकता र सतर्कता अपनाउनुको विकल्प नभएको बताउनुभएको छ । बिहीबार ७९ जना निको भएर घर फर्किने भएपछि जिल्लामा निको हुनेहरूको सङ्ख्या ५४७ पुगेको छ ।
जिल्लामा फेला परेका ७६३ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने हाल विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा २१२ जना उपचारको क्रममा रहनुभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?