logo
२०८१ मंसिर १४ शुक्रवार



पहिरोमा परी दुई घाइते, दुई दर्जन बढी घर पहिरोको उच्च जोखिममा

फिचर |
पढ्नै पर्ने |


पहिरोमा परी दुई घाइते, दुई दर्जन बढी घर पहिरोको उच्च जोखिममा


प्रतिक शर्मा

सल्यान, भदौ ४ गते । अविरल वर्षापछि आएको पहिरोले छत्रेश्वरी गाउँपालिका-१ चामीमा दुई जना घाइते भएका छन् । गएराति आएको पहिरोमा परी ३० वर्षीया कमला केसी, उनका ८ वर्षीय छोरा समीर केसी घाइते भएका छन् ।

घाइते आमाको बागचौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ भने छोराको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छत्रेश्वरी गाउँपालिका वडा न १ का वडा सदस्य प्रकाश हमालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा चामी गाउँका झन्डै एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय महोलाल खत्रीका दुई घर, बलबहादुर खत्रीका दुई घर, नवीन केसी, त्रिभान खत्री, तुलसीराम डाँगीका घर पहिरोको जोखिममा रहेका छन् ।

पहिरोले ठूलो मात्रामा मकैबाली बगाएको छ भने घरभित्र रहेका अन्नबाली पुरिएको पीडित नवीन केसीले बताउनुभयो । यस्तै वडा न २ मा पनि एक दर्जन घर जोखिममा परेका छन् । वडा नं. २ का टिकाराम बस्नेतको घर भत्किएको वडा अध्यक्ष प्रेम खड्काले बताउनुभयो । उहाँका अनुसार दहखोलाले टोपबहादुर डाँगी, कृतिबहादुर बस्नेत, प्रेम केसी, लक्ष्मण केसी, अम्मरसिंह वि.क., टिकाराम खड्कालगायतको घर पहिरोको जोखिममा रहेको छ ।

यस्तै चामी गाउँसँगै जोडिएको रोल्पा गङ्गादेव गाउँपालिका-३ का टिकाराम खत्री र करण खत्रीका चार घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमौचार र प्रहरी चौकी पातिहाल्नको प्रहरी टोली पुगी उद्धार कार्यमा जुटेको छ । जोखिममा रहेका घरहरूको मानिस र सरसामान अन्यत्र स्थानान्तरण गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाँफु खोला दोभान बजार डुबानमा

बागचौर नगरपालिका वडा न १२ बाँफु खोलाको दोभान बजार डुबानमा परेको छ । वडा सचिव पहलबहादुर वलीले ओखरेनी खोलामा बाढी दर्जन बढी पसलमा पानी पसेको बताउनुभयो । उहाँका अनुसार पहिरोले ओखरेनीमा दुई वटा घर भत्काएको छ । बाढी पहिरोले ८ वटा बाख्रा एक भैँसी मरेका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले नेपाली सेना र नेपाल प्रहरीले दोभान बजारमा उद्धारको काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थल पुग्न समय धेरै लागेकाले उद्धार कार्य ढिला गरी सुरु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?