गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ४ गते । काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका २०० जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अुनसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा २०० जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं उपत्यकाको काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा आठ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशभरि ११ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित निको हुने दर ६१ प्रतिशत रहेको बताउनुभयो । देशभरि पाँचसयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लामध्ये काठमाडाैँ उपत्यकाको काठमाडाैँ पनि एक हो ।
पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकामा थप एकजना सङ्क्रमित महिलाको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ । पर्सामा तीन, सप्तरी र मोरङमा एक एक गरी पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।