logo
२०८२ भाद्र २३ सोमवार



विराटनगरमा होम आइसोलेसनमै एक सङ्क्रमितको मृत्यु

फिचर |


विराटनगरमा होम आइसोलेसनमै एक सङ्क्रमितको मृत्यु


नवराज कट्टेल
विराटनगर, भदौ ५ गते । कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमै रहेको अवस्थामा एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको हो । सुगर र प्रेसरले लामो समयदेखि ग्रसित पुरुषलाई भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएपछि घरमै सुरक्षित राखिएको अवस्थामा बिहीबार बेलुका एक्कासि मृत्यु भएको उहाँले बताउनुभयो ।
घरमै मृत्यु भएपछि शव व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ । परिवारले हिजो बेलुकै मृत्यु भए पनि अध्यक्षलाई बिहान मात्रै जानकारी भएको थियो ।
'आफैँ अन्त्येष्टि गर्न लाने तयारी भइसकेको रहेछ । थाहा पाएर रोकेँ', अध्यक्ष कामतले भन्नुभयो, 'सङ्क्रमितको घर भएकोले आसपासका छिमेकीहरू समेत घरमा आउजाउ नगर्ने भएकोले ढिलो थाहा भएको हो ।' 
शुक्रबार बिहानै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई वडा अध्यक्ष आफैँ जानकारी गराएपछि नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने भएको छ ।
योसँगै विराटनगर महानगरपालिकामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । मोरङको बुढीगङ्गा गाउँपालिकामा दुई जना, रङ्गेली र सुनवर्षी नगरपालिकामा एक–एक जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा मोरङका १२ सहित सुनसरी धरानका एकजना गरी १३ जनाको र उपचारका लागि प्रदेश २ बाट आउने चार जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?