लक्ष्मण पौडेल
भैरहवा, भदौ ५ गते । समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढिरहेको बेला लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले भैरहवाको टोलटोलमा “तपाईंको मास्क खोई ?” भन्ने अभियान थालेको छ ।
ग्रिनसिटीले सर्वसाधारणलाई सचेत गराउने गरी मास्क लगाउनु अनिवार्य भएको भन्दै ठाउँठाउँमा सचेतनाका लागि ब्यानर टाँसिरहेको लायन्स डिष्ट्रिक्ट इन्टनरनेशनल ३२५ बी टु का प्रमुख नवराज न्यौपानेले बताउनुभयो ।
ग्रिनसिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले लकडाउनमा मानिसहरू साँझ र बिहानपख मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको बेला उनीहरूलाई सचेत गराउने ढङ्गले मास्क लगाउन उत्प्रेरित गरिएको बताउनुभयो । भैरहवाको अञ्चलपुर, बर्मेलीटोल, लुम्बिनी रोड, मिलनचोक, मेउडिहवा, मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, जनकपथ, विमानस्थल, बसपार्क, बेलहियाजस्ता भिडभाड हुने ३० स्थान छनौट गरेर मास्क खै ? भन्ने ब्यानरिङ गरिएको क्लबका तृतीय उपाध्यक्ष मनोज क्षेत्रीले बताउनुभयो ।
दिनहुँ कोरोना सङ्क्रमितको बढ्नुको मूल कारण हेलचेक्रयाईंका साथ मास्क नलगाई हिँडडुल गर्नु, स्यानिटाइजर प्रयोग नगर्नु र सामाजिक दूरी कायम नगर्नु भएको जनस्वास्थ्यको पनि निष्कर्ष भएकोले सरकारी अभियानमा हातेमालो गरिएको क्लबका सदस्य कमल रायमाझीले बताउनुभयो । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी केही दिनअघि ब्लड क्यान्सर पीडित मनोज गिरीको उपचारको लागि ५१ हजार आर्थिक सहयोग गर्दै स्थापना भएको क्लबका सचिव भीम थापाले बताउनुभयो । क्लबले कोभिड–१९ को न्यूनीकरणमा स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला सङ्कट व्यवस्थापन समितिसँग सहकार्य गरेर काम गर्ने तयारी गरेको क्लबका प्रथम उपाध्यक्ष गोविन्दप्रसाद गिरीले बताउनुभयो ।