सिराज खान
नेपालगञ्ज, भदौ ६ गते । बाँकेमा शनिवार २१ जनाले कोरोना जितेर निको भई घर फर्किएका छन् । गत केही दिनयता जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या बढ्दैगएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार जिल्लामा गत तीन दिनमा मात्रै सय जनाले कोरोनालाई जितेर निको भएर घर फर्किएका छन् ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बिहीबार र शुक्रबार गरेर ७९ जना डिस्चार्ज भएको जनाउँदै शनिबार थप २१ जना निको भएर डिस्चार्ज भएपछि तीन दिनमा निको हुनेको सङ्ख्या एक सय पुगेको बताउनुभयो ।
उहाँले जिल्लामा शुक्रबारसम्म ८११ जनालाई कोरोना सङ्क्रमण देखिएकोमा ५६८ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भइसकेको बताउनुभयो । शनिबार आठ जना महिला सहित १३ जना पुरुष गरेर २१ जना निको भई घर फर्कनुभएको हो । कोरोना परीक्षणको नतिजा पोजिटिभ देखिएपछि उहाँहरूलाई गत साउन २४ गते जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो ।
आइसोलेसन सेन्टरमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका व्यक्तिहरूलाई डिस्चार्ज गर्न लागिएको सम्पर्क व्यक्ति श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा अझै २३५ जनाको उपचार भइरहेको छ ।