नवीन शिशिर विक
बागलुङ, भदौ ६ गते । घर बिदामा बागलुङ आएका एक जना सैनिक जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बागलुङ नगरपािलका–१२ स्थायी घर भई हाल बागलुङ नगरपालिका–३ गुठीमा परिवारसँगै बस्दै आएका २५ वर्षीय युवामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित युवा साउन ३० गते लम्जुङदेखि छुट्टी लिएर घर आउनुभएको थियो ।
घर बिदामा रहेको बेला ज्वरो आउने, खोकी आउने समस्या भएपछि उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पुग्नुभएका युवालाई कोरोना सङ्क्रमणको आशङ्कामा अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा बागलुङका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
युवाको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्तिको खोजी गरी होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको खनालले बताउनुभयो । युवालाई अहिले पनि खोकी लागिरहेको धौलागिरी अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोख्रेलले जानकारी दिनुभयो ।