logo
२०८१ चैत्र ३ सोमवार



धरानमा थप एक सङ्क्रमितको मृत्यु

फिचर |
प्रदेश |


धरानमा थप एक सङ्क्रमितको मृत्यु


जयकृष्ण यादव
इनरुवा, भदौ ६ गते । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । उपचार गराइरहनुभएका धरानका एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । शनिबार धरान १५ का ६७ वर्षीय व्यक्तिको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
मृतकको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृतक उच्च रक्तचापको दीर्घरोगी हुनुहुन्थ्यो । उहाँलाई श्वासप्रश्वासको समस्यासमेत रहेको थियो । मृतकको साउन २७ गते पीसीआर पोजिटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको थियो ।
यसअघि धरानमा एक महिलाको मृत्यु भएको थियो । धरानमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा यसअघि प्लाज्मा थेरापी गरेका धरान–१५ कै व्यवसायीको भने स्वास्थ्य सुधार आएको प्रतिष्ठानले जनाएको छ ।
यसैबीच सुनसरीमा बिहानको विवरणअनुसार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । इटहरी उपमहानगरपालिकामा आठ जना, धरान उपमहानगरपालिकामा पाँच जना र गढी गाउँपालिकाको औरावनीमा चार जना गरी सुनसरीमा १७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
इटहरीमा भदौ २ गते स्वाब पठाएकामध्ये थप पाँच जना र तीन गते पठाएकामध्ये तीन जना गरी जम्मा आठ जना नया सङ्क्रमित थपिएका छन् । सङ्क्रमितहरू इटहरी वार्ड नं ९ का तीन जना महिला र एक जना पुरुष गरी जम्मा चार जना, १२ नं वडाको एक जना महिला र एक जना पुरुष गरी जम्मा दुई जना, ६ नं वडाको एक जना महिला र १४ नं वडाको एक जना पुरुष रहेका छन् । इटहरीमा जम्मा सङ्क्रमितको सङ्ख्या ७२ पुगेको छ भने जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ४३६ पुगेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारीअनुसार कुल सङ्क्रमितमध्ये १८१ जना निको भएका छन् । जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या भने २४५ रहेको छ ।
स्वास्थ्य कार्यालयमा प्राप्त आधिकारिक रिपोर्ट मात्र सार्वजनिक गर्ने गरिएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो समय सुनसरीमा क्वारेन्टिनबाहिर रहेका व्यक्तिहरूमा बढी सङ्क्रमण देखिन थालेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?