देवराम प्रसाद यादव
सप्तरी, भदौ ६ गते । तराई मधेशका जिल्लाहरूमा शनिबार चौठचन्द्र अर्थात चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष गरी मधेशका जिल्लाहरूमा हिन्दू धर्मावलम्बीहरूले घरघरमा मनाउने गर्छन् ।
यो पर्व गणेश चतुर्थीका दिन साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहँदैआएको छ ।
यस विषयमा कथामा उल्लेख भएअनुसार चन्द्रमालाई आफ्नो सौन्दर्यमाथि धेरै घमण्ड थियो । उहाँको घमण्डका कारण भगवान गणेशबाट श्रापित भई कलङ्कित भयाे । एकपटक गणेशको सुँड भएको रुप देखेर चन्द्रमा हाँसेर अपमानित गरेपछि उहाँले तिमीलाई जसले हेर्छ, त्यसलाई कलङ्क लाग्नेछ भनी श्रापित भएको कथामा उल्लेख छ ।
चन्द्रमाको अवस्था देखेर ब्रम्हाले श्रापबाट मुक्ति पाउन पूजाको विधि बताउँछन् । सोहीअनुसार चन्द्रमाले गजानन् गणेशको पूजा गरेपछि गणेश प्रसन्न भएर श्रापमुक्त गरिदिनुभयो । गणेशले ‘भदौ महिनाको शुक्ल चतुर्थीका दिन जसले तिमीलाई हेर्नेछ उसलाई कलङ्क लाग्दैन, पापबाट मुक्ति पाउनेछ’ भन्नुभएको थियो । यतिमात्र होइन, भदौ चतुर्थीको चन्द्रमा दर्शन गरेपछि मनोवाञ्छित फलसमेत प्राप्ति हुने गणेशले भन्नुभयो । यसै कारण मधेसका जिल्लाहरूमा यो पर्व विशेष महत्त्व एवम् निष्ठापूर्वक मनाइँदैआएको छ ।
यो पर्व विधिपूर्वक गरेपछि मिथिला नरेशलाई मनोवाञ्छित फल प्राप्त भएको कथन छ । यो पर्वमा व्रतालु महिला दिनभरि निराहार रहेर पुरी, खीर तथा विभिन्न प्रकारका पकवानहरू बनाउने गर्छन् ।
विभिन्न प्रकारका मिठाइहरूका साथै दहीको विशेष अनिवार्यता रहेको छ । यस अतिरिक्त नरिवल, केरालगायत उपलब्ध फलफूलसमेत पूजा सामग्रीको रुपमा राखिन्छ । कुम्हार (कुमाले)द्वारा निर्मित माटाको भाँडोमा दही जमाएर चढाउने यस पर्वको विशिष्टता रहेको छ । पर्व प्रयोजनका लागि दूधलाई राम्रो तताएर छालीसमेत ननिकाली नयाँ वर्तनमा दही जमाइन्छ । नयाँ वर्तनमा जमाइने दही ढिक्काजस्तै हुने गरेकोले यो दही विशिष्ट मानिन्छ ।
चौठीचान बाबाको प्रतीकको रुपमा चन्द्रमालाई अर्घ दिनका लागि व्रतालु महिलाले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राख्ने गरिन्छ । कुटानी पिसानीसमेत पवित्रताका साथ गरिन्छ । चौरचनका लागि पुरी बनाउन जाँतोमा चामल पिँधेर पिठो बनाइन्छ । सोही पिठोको पुरी, पेरुकिया, खजुरिया आदि बनाइन्छ ।
चौरचनमा चढाइने प्रसादलाई पशुपन्छीले छोएमा वा जुठो गरिदिएमा अशुभ मानिन्छ । साथै चौरचनका लागि प्रयोग हुने प्रसादलगायत सामग्रीहरू बच्चाहरूले नछोओस् वा मुखमा नलियोस् भनी बडो सावधानी अपनाइन्छ । पूजा सामग्री बच्चा वा पशुपञ्छीले जुठो गरिदिएमा चर्मरोग हुने विश्वास रहेकोले अन्य पर्वहरूको तुलनामा अत्यधिक सावधानी अपनाइन्छ । साथै यो पर्वमा कबुला गरेमा चर्मरोग निको हुनेसमेत जनविश्वास छ ।
यो पर्वको अर्को विशेषता के रहेको छ भने मानवका लागि मात्र नभई पशुका लागि समेत गरिन्छ । परिवारका सम्पूर्ण सदस्य तथा पशुहरूको नामबाट समेत कौरना, छाँछ, मटकुडा, कौरनी आदिमा दही जमाएर चढाउने मान्यता रहँदैआएको छ । पशु चौपायाको नामबाट कौरनी (माटाको वर्तन)मा दही जमाएर चढाइन्छ । सम्पूर्ण सदस्य तथा पशुको नामबाट चौठीचान्दको नामबाट पूजा गरेपछि रोग–व्याधिबाट मुक्ति पाउनुका साथै समृद्धि प्राप्ति हुने जनविश्वास छ ।
साँझको समयमा आँगनमा माटो र गोबरले लिपपोत गरिन्छ । उक्त स्थानमा चामललाई पिँधेर बनाइएको घोल(पिठार)ले अरिपन (चौका) लगाइन्छ । त्यसपछि चौठीचानलाई चढाउनका लागि तयार पारिएको पुरी, खजुरिया, पेरुकीया, खीर, फलफूल, दहीलगायत पकवान तथा मिष्ठान्नहरू सजाएर राखिन्छ । पूजा स्थलमै बस्नका लागि पिँढी वा आसन राखिएको हुन्छ । जसलाई स्थानीय भाषामा ‘मड़र’ भनिन्छ । उक्त पिँढी अर्थात ‘मड़र’मा पूजापश्चात पुरुष बस्ने परम्परा रहेको छ । बस्नका लागि राखिएको पिँढीको अगाडि केराको पातमा प्रसादको रुपमा विभिन्न परिकारहरू चढाइन्छ ।
सूर्यास्तपश्चात साँझ उदाउँदो हँसिया आकारको चन्द्रमालाई सम्पूर्ण सामग्रीको अर्घ दिइन्छ । सम्पूर्ण परिकार तथा पकवानहरू चौठीचान्दलाई समर्पण गरिसकेपछि अन्त्यमा जलढार (जलब चढाएर) गरिन्छ । त्यसपछि परिवार पुरुष ‘मड़र’मा बसेर प्रसाद ग्रहण गर्ने गर्छन् । चौठीचानलाई अर्घपश्चात परिवार अन्य सदस्यहरूसमेत प्रसाद ग्रहण गर्ने गर्छन् । मड़रका लागि पातमा चढाइएको प्रसाद बाँकी रहेमा पातसहित आँगनमै खाल्डो खनेर गाडिन्छ ।
सबेरैदेखि व्रतालु महिला चन्द्रमा उदाउने आशमा बसिरहेकी हुन्छिन् । हँसिया आकारको चन्द्रमा पश्चिम–दक्षिणतर्फ आकाशमा देखिएपछि अर्घ दिइन्छ । कुनै वर्ष कालो बादल लागेर वा पानी परेर चन्द्रमा आकाशमा नदेखेपछि केहीबेर हात जोडेर दर्शन दिन बिन्ती गरिन्छ । यस विषयमा मैथिलीमा यस्तो गीतसमेत चर्चित छ ‘आबऽ हौ चोैठीचान, लपकऽ हौ पुडी‘।’
स्थानीयस्तरमा उपलब्ध सामग्रीको प्रयोगका साथै कुम्हार(कुमाले)को माटाको वर्तनको प्रयोगले जातीय सहिष्णुतालाई जोड्ने काम गरेको छ । यस अतिरिक्त प्रायः पर्वहरू घरपरिवार तथा परिवारजनको सुख–समुद्धिका लागि गरिन्छ तर यो पर्व भने घरमा पालिएका पशुचौपायाका लागि समेत गरिन्छ ।