सिराज खान
नेपालगञ्ज, भदौ ७ गते । बाँकेमा आइतबार एकैदिन जिल्लाका ४६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । गत केही दिनयता आएर निको हुनेहरूको सङ्ख्या बढ्दै गएकोले दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमतिहरू कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किने गरेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार आइतबार वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुखसहित ४१ जना प्रहरी र उनका आफन्त, नेपालगञ्ज उपमहानगरपालिकाका चार जना र कोहलपुरका एक जना गरी ४६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
उहाँले आइतबार निको भएर फर्किएकाहरूमा वडा प्रहरी कार्यालय नेपालगञ्ज आइसोलेसनबाट ३३ जना, सिटी प्यालेस होटलबाट चार जना, खुला कारागार गनापुर आइसोलेसनबाट तीन जना, नेपालगञ्ज आदर्शनगर आइसोलेसनबाट एक जना, लायन्स डेण्टल अस्पतालबाट एक जना, भेरी अस्पतालबाट एक जना, सुशील कोइराला प्रखर क्यान्सर आइसोलेसन अस्पतालबाट एक जना, होटल इन्द्रेणीबाट एक जना र चिसापानी आइसालेसनबाट एक जना गरी कुल ४६ जना रहेको बताउनुभयो ।
आइतबारसम्म बाँकेमा ८२१ जनालाई कोरोना सङ्क्रमण देखिएकोमा ६१४ जना सङ्क्रमणमुक्त भई घर फर्किसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सो कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट दुई महिलासहित चार जनाको मृत्यु भइसकेको छ भने विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा अझै पनि २०३ जनाको उपचार भइरहेको छ ।
उता, सङ्क्रमण बढ्दै गएपछि कोहलपुरमा दोस्रो पटक थप गरिएको निषेधाज्ञालाई हाल आएर थप कडा पारिएको छ । कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले निषेधाज्ञालाई शनिबारबाट थप कडा गरेर सवारी साधनलगायत मानिसको आवागमनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको बताउनुभयो ।
यसैगरी नेपालगञ्जमा मास्क नलगाउनेहरूमाथि निगरानी कडा पार्नुका साथै जोर बिजोर प्रणालीको पालना नगर्नेहरूलाई दिनदिनै जरिवाना गर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।