logo
२०८२ भाद्र २४ मंगलवार



पर्सामा थप १४५ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित सङ्ख्या एक हजार ९३६

फिचर |


पर्सामा थप १४५ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित सङ्ख्या  एक हजार ९३६
फाइल तस्बिर


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ७ गते । पर्सामा थप १४५ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा शनिबार ३२० स्बाव परीक्षण गर्दा राति अबेर आएको रिपाेर्टमा पर्सामा १४५ जनासहित १५६ जनाका सङ्क्रमण पुष्टि भएको हो । प्रयोशाला स्रोतका अनुसार नयाँ सङ्क्रमितहरूमा पर्साका १४५ जना र बाराका ११ जना गरी ३४ महिलासहित १५६ जना रहेका छन् ।

सङ्क्रमित ४३ जनाकाे कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ पाइएका हुन् । नेशनल मेडिकल कलेजका तीन जना चिकित्सक, तराई हस्पिटल एण्ड रिर्सच सेन्टरका एक जना चिकित्सक तथा भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरका एक जना चिकित्सकमा र वीरगञ्जबाट प्रसारित सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पाँच जना सञ्चारकर्मीमा समेत कोरोना पुष्टि भएको छ ।

त्यस्तै नयाँ थपिएका सङ्क्रमितहरूमा जिल्ला प्रहरी कार्यालय पर्साका नाै जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिप्राका १६ जना र छपकैयाका १० जना, पर्साकै पर्सागढी नगरपालिकाका चार जना, बिन्दवासनी गाउँपालिकाका नाै जना, सुख्खा बन्दरगाहका दुई जना रहेका छन् ।

अन्य थपिएका सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिकाको राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मुर्ली, तेजारथ टोल, कुम्हालटोल, गणेशटोल, अपौनी, बसडिल्वा, भिस्वा र पटेर्वासुगौली तथा बिन्दवासनी गाउँपालिकाका बासिन्दा रहेका छन् ।

त्यस्तै जितपुर आर्मी ब्यारेकका दुई जना, नेपाल फर्मास्युटिकल्स लिमिटेडका नाै जना र हिमाल आइरन स्टिलका तीन जनामा सङ्क्रमण पुष्टि भएको प्रयोगशाला स्राेतले जनाएको छ ।

पर्सामा नयाँ थपिएका १४५ जना गरी कुल सङ्क्रमितको सङ्ख्या एक हजार ९३६ पुगेको छ । पछिल्लो चार दिनमा पर्सामा ३२९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
कोभिडसँग सम्बन्धित सूचना जिल्ला प्रशासन कार्यालयबाट मात्र दिइने भनिए पनि शनिबार रातिसम्मका परीक्षण रिपोर्टका सूचना आइतबार दिउँसो १ बजेसम्म दिइएको छैन भने शनिबार साँझ साढे ७ बजे मृत्यु भएकी सङ्क्रमित महिलाको बारेमा आइतबार बिहान मात्र सूचना प्रवाह गरिएको थियो ।

कोभिडसँग सम्बन्धित सूचना पाउन निकै समस्या परिरहेको सञ्चारकर्मीहरूको गुनासो रहेको छ । पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारीको आगमनसँगै सूचनामा कडाइ भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?