बेलिना थापा
लमजुङ, भदौ ७ गते । लमजुङको बेंसीसहर नगरपालिका-९, साम्दी थापागाउँका हरिबहादुर थापा ६९ वर्षको हुनुभयो । वृद्ध अवस्थाका थापाले घरनजिकै आएको चितुवासँग लडाइँ गरेर बाँचेको भन्दा धेरै छक्क पर्छन् । हुन पनि थापा बुढेसकालमा पुगेपछि हिम्मत भने युवाको जस्तै छ । उहाँले आइतबार बिहान मात्रै एउटा चितुवासँग लड्दालड्दै चितुवालाई मार्न सफल हुनुभएको छ ।
आइतबार बिहान ८ बजेतिर हरिबहादुर थापा घाँस काटेर घर फर्किनुभएकाे थियाे । घरनजिकै केही आवाज आएपछि बाँदर आयो की भन्दै हाहा र हुहु गर्दै बाहिर निस्कनुभयो । रुखतिर हेर्नुभयो । करिब १० मिटर पर बाटोमा पुग्दा उहाँले चितुवाको टाउको देख्नुभयो । हाहा गर्दागर्दै बाटो तलबाट उहाँलाई चितुवाले झम्टियो । चितुवाले धान खेतमा लडाएपछि पुनः उठेर आफ्नो साथमै रहेको हँसिया लिएर चितुवाको मुखमा हान्न थाल्नुभयो । उहाँले मुखमा हान्दै गर्दा चितुवाले पनि उहाँको हात, खुट्टामा चिथोर्यो । फेरी उहाँले चितुवाकाे टाउकोमै हँसियाले हान्नुभयो । यसरी करिब १० मिनेटसम्म चितुवासँग लडिरहनुभयो । उहाँले हिम्मत हार्नुभएन । लडाइँ गर्दागर्दा चितुवा खेतमै मरेको उहाँले बताउनुभयो ।
‘कराउँदा कराउँदै चितुवा मैमाथि आयो । मैले पनि हातमै रहेको हँसियाले बजाएँ । अन्य भागमा भन्दा मुखमै हानिदिएँ । उसले फेरी मलाई झम्टियो । मेरो दाहिने हात, देब्रे हात र दाहिने घुँडामा चिथोरेको छ’ उहाँले भन्नुभयो, ‘म रित्तो हात भएको भए बाँच्ने थिएन होला । मसँग एउटा सानो हँसिया थियो, यसैको सहाराले बाँच्न सफल भएँ । यो नभएको भए आज मेरो अन्तिम दिन हुन्थ्यो ।’
थापाले चितुवालाई मारिसकेपछि घरका आफन्त, छिमेकी आएका थिए । उहाँ एक्लैले चितुवा मारेपछि स्थानीय दङ्ग परेका छन् । छोरा पर्ने विष्णुबहादुर थापाले वृद्ध अवस्थाका काकाले एक्लै चितुवासँग लडेको सुन्दा अचम्म लागेको बताउनुभयो । उहाँले काकाको हिम्मत र आँटलाई गाउँलेले सम्मान गरेको बताउनुभयो । घाइते थापाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।
सब डिभिजन वन कार्यालय बेंसीसहरका प्रमुख सहायक वन अधिकृत नारायणप्रसाद कोइरालाका अनुसार आइतबार वृद्धलाई आक्रमण गर्ने साधारण चितुवा हुन् । अन्दाजी डेढ वर्ष उमेरको छ । शरीरको लम्बाई तीन फिट चार इन्च छ । पुच्छरसहित पाँच फिट छ इन्च रहेको छ । उचाई २३ इन्च छ । शरीरको मोटाई २२ इन्च रहेको कोइरालाले बताउनुभयो । उक्त चितुवा पोथी जातको साधारण चितुवा हो ।
डिभिजन वन कार्यालयका डिभिज्नल वन अधिकृत मोहनराज काफ्लेका अनुसार मृत चितुवालाई कार्यालयमा ल्याइएको छ । मुचुल्का लिएर कम्पाउण्डभित्रै गाडिने उहाँले बताउनुभयो ।