दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ७ गते । वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना सङ्क्रमित अस्पतालबाट भागेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहँदा कोरोना सङ्क्रमण पुष्टि भई लक्षण देखिएर कोरोना अस्पतालमा उपचाररत दुई जना थुनुवा वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट गएराति भागेका हुन् ।
ती सार्वजनिक मुद्दामा हिरासतमा रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले पुष्टि गर्नुभयो । डिलक्स क्याबिनमा बसेर अस्पतालमा उपचार गराउँदैआएका थुनुवाहरू कसरी भाग्न सफल भए भनी अनुसन्धान भइरहेको र उनीहरूको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।
राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले सङ्क्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । सङ्क्रमित थुनुवाहरू अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुनसक्ने अनुमान गरिएको छ ।