नवराज कट्टेल
विराटनगर, भदौ ८ गते । कोशी अस्पताल विराटनगरअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो ।
उपचार केन्द्रका इन्चार्ज वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार अस्पताल आइपुगेको एक घण्टामै उनको मृत्यु भएको बताउनुभयो । परिवारका सदस्यमाा कोरोना सङ्क्रमण पुष्टि भएपछि सम्पर्क पहिचानका आधारमा भदौ ४ गते मृतक पुरुषको स्वाब सङ्कलन गरी परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएको थियो । रिपोर्ट आइतबार दिउँसो ३ बजे पोजिटिभ आएको थियो । दिउँसो रिपोर्ट पोजिटिभ आएका पुरुषलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको हो ।
मृतकका परिवारमा दुई वर्षीया बालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा सङ्क्रमण पुष्टि भएको हो । तीनै जना अहिले घरमै रहेका छन् । योसँगै विराटनगरको कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना सङ्क्रमितको ज्यान गइसकेको छ । यसअघि विद्युत् प्राधिकरणका प्राविधिक विराटनगर–३ का ५७ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको थियो ।
विराटनगरमा कोरोना सङ्क्रमित एक महिलासहित १० जनाको मृत्यु भइसकेको छ । विराटनगरकै कोशी अस्पतालमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सात जनाको मृत्यु भएको थियो । एक जना सङ्क्रमितको घरमै मृत्यु भएको हो ।
आइतबार साँझ नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–८ का ६७ वर्षीय पुरुषको निधन भएको थियो । बीपीमा पहिलो प्लाज्मा थेरापी गरिएका पुरुषको मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।