सिराज खान
नेपालगञ्ज, भदौ ९ गते । बाँकेमा एक महिनाअघि सङ्क्रमित बढ्ने क्रम तीव्र भएकोमा हाल आएर निको भएर घर फर्किने क्रम बढेको छ । जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूमा रहेका २६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएर मङ्गलबार घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मङ्गलबार सात महिला र १९ पुरुष गरी जम्मा २६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
उहाँले यसरी घर फर्किनेहरूमा २१ जना नेपालगञ्जस्थित होटल सिटी प्यालेसको आइसोलेसनमा रहेका र पाँच जना खुला कारागार आइसोलेसनमा बसेकाहरू रहेको बताउनुभयो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले एक महिनाअगाडि समुदायमा सङ्क्रमण फैलिएपछि जनस्तरमा बढेको त्रास अहिले आएर निको हुनेहरू बढ्दै गएकोले कम भएको बताउनुभयो ।
पछिल्लो समयमा नेपालगञ्जमा सङ्क्रमितहरू फेला पर्ने क्रम कम हुँदैगएको र कोहलपुर क्षेत्र हटस्पट बन्दैगएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोही कारणले कोहलपुरमा गत दश दिनदेखि निषेधाज्ञा जारी गरिएको छ ।
यसैबीच नेपालगञ्जस्थित भेरी अस्पतालका दुई जना वरिष्ठ चिकित्सकमा सङ्क्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कोरोना सङ्क्रमितको उपचारमा निरन्तर खटिनुभएका वरिष्ठ चिकित्सकहरू डा. सङ्केतकुमार रिसाल र डा. राजन पाण्डेलाई सङ्क्रमण पुष्टि भएको हो ।
मङ्गलबारसम्म बाहिरी जिल्लाका केहीसमेत गरेर बाँकेमा ८३५ जनालाई कोरोना सङ्क्रमण देखिएकोमा ६५४ जना सङ्क्रमणमुक्त भई घर फर्किसक्नुभएको छ ।
हालसम्म जिल्लामा चार जनाको मृत्यु भइसकेको छ भने अझै विभिन्न आइसोलेसन सेन्टरमा १७७ जनाको उपचार भइरहेको छ ।
समुदायस्तरमा सङ्क्रमण फैलिन थालेपछि कोभिड १९ सङ्कट व्यवस्थापन समिति बाँकेले नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझामा मास्क लगाउन तथा भौतिक दुरी कायम राख्न कडाइ गर्दैआएको छ ।
कोभिड-१९ सङ्कट व्यवस्थापन समितिका अनुसार बजारमा भिडभाड कम गर्न सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ भने स्वास्थ्य सुरक्षा नअपनाउने व्यवसायीलाई जरिवाना र पसलमा तालाबन्दी गर्न थालिएको छ ।