logo
२०८२ भाद्र २४ मंगलवार



विराटनगरका दुई निजी अस्पतालमा दुई जना सङ्क्रमितको मृत्यु

फिचर |


विराटनगरका दुई निजी अस्पतालमा दुई जना सङ्क्रमितको मृत्यु
सांकेतिक तस्बिर


नवराज कट्टेल
विराटनगर, भदौ १० गते । विराटनगरका दुई निजी अस्पतालमा उपचारत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर–११ की ४४ वर्षीया महिलाको र न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टङ्किसिनवारीस्थित विराट मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको मङ्गलबार कोरोना पोजिटिभ आएको थियो । उहाँलाई मङ्गलबार दिउँसो नै भर्ना गरिएको विराटका कोभिड–१९ आइसोलेसनका इन्चार्ज डा. पुरु कोइरालाले जानकारी दिनुभयो । 'उहाँको अवस्था क्रिटिकल नै थियो', डाक्टर कोइरालाले भन्नुभयो, 'भेन्टिलेटरमा राखेसँगै रिपोर्ट पनि आयो र पोजिटिभ देखिएको थियो ।'

पाेजिटिभ रिपोर्ट आएपछि मेडिकल कलेजकै आइसोलेसनमा भर्नाको तयारी भइरहेकै बेला आकस्मिक कक्षमै मृत्यु भएको हो ।  मृतक महिलालाई निमोनिया भएको थियो ।
शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, मोरङबाट प्रक्रिया बढाइएको डाक्टर कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी न्यूरो अस्पतालमा साउन ३१ गते भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मङ्गलबार राति ११ बजेतिर मृत्यु भएको हो । अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाइसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररत रहेकै बखत भदौ ३ गते स्वाब सङ्कलन गरिएको थियो ।

'गम्भीर बिरामीमा केही लक्षण जस्तो देखियो', संयोजक बस्नेतले भन्नुभयो, 'त्यसपछि स्वाब सङ्कलन गरेका थियौँ, भदाै ७ गते रिपोर्ट आउँदा पोजेटिभ देखियो ।' बिरामीमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएपछि न्यूरोको आइसोलेसन विभागमा भेन्टिलेटरको सुविधासहित सारिएको बस्नेतले बताउनुभयो ।

उहाँको मृत्युपछि शव व्यवस्थापनका लागि न्यूरो अस्पताल व्यवस्थापनले जिल्ला प्रशासन कार्यालय, मोरङ र विराटनगर महानगरपालिकालाई जानकारी गराइसकेको छ । जिल्ला प्रशासन कार्यालय, मोरङले महोत्तरी जिल्ला प्रशासनसँग परामर्श गरेर शव व्यवस्थापनको प्रक्रिया बढाउने जानकारी दिइएको बस्नेतले बताउनुभयो ।

अस्पतालमा सङ्क्रमितको मृत्युपछि शव भने बेलुकै ‘एयर टाइट’ सिल प्याक गरेर राखिएको छ । विराटनगरमा हालसम्म काेरोनाको सङ्क्रमण पुष्टि भएका नाै जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?