शिवशङ्कर मिश्र
बारा, भदौ १० गते । कोरोनाको कारणले थप दुई पुरुषको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारण मर्नेको सङ्ख्या १५ पुगेको छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर–१ छतवा टोल बस्ने ४२ वर्षीय पुरुष तथा अर्काे कलैया उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ७० वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो ।
उहाँहरू किड्नी र श्वासप्रश्वास, ज्वरो, रक्तचाप, थाईराईडको समस्याबाट ग्रसित रहेकाे बुझिएकाे छ । मङ्गलबार दिउँसो पीसीआर रिपाेर्ट पोजिटिभ आएपछि पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक तथा गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मङ्गलबार राति ८ बजे र अर्का एकको पौने ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
मृतक दुवै पुरुषको शव सोही अस्पतालमा नै रहेको तथा शव व्यवस्थापन गर्न उहाँहरूको परिवारसहित सुरक्षा प्रमुखहरूको गृहकार्य भइरहेको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।
यसरी कोरोनाबाट बारामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको तथा रोगको प्रकोप बढ्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन कडाइ गरिएको उहाँले जानकारी दिनुभयो ।
सोही अस्पतालमा उपचार गराइरहेका बाराको सुवर्ण गाउँपालिका तथा महागढीमाई नगरपालिकाको एक/एक जना गरी दुई जनाको कोरोनाको कारण मङ्गलबार बिहान मृत्यु भएको थियो ।