logo
२०८१ माघ २२ मंगलवार



कोरोनाबाट बच्ने नयाँ काइदा, दैलेखमा एसएमएस अभियान

फिचर |
पढ्नै पर्ने |


कोरोनाबाट बच्ने नयाँ काइदा, दैलेखमा एसएमएस अभियान


कमल शर्मा

दैलेख, भदौ १० गते । कोरोना सङ्क्रमणबाट बच्न र बचाउन जिल्ला प्रशासन कार्यालय, दैलेखले एसएमएस अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा एसएमएस अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले एसएमएस अभियान भनेको सोसियल डिस्टेन्स कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्नका लागि नागरिकहरूलाई सचेतना जगाउन जिल्लाका सबै सरकारी तथा गैर सरकारी संस्थालाई परिचालन गर्न लागेको बताउनुभयो ।

इन्द्र दल गुल्मका सेनानी बीके सिंह विश्वकर्मा, प्रहरी नायब उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्पतालका डा. निरञ्जन पन्त र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसमेतको सहमति अनुसार सरकारी र गैरसरकारी संस्थाहरूको साझेदारीमा अभियान चलाउने निधो गरिएको छ । एभरेष्ट क्लबका अध्यक्ष दीपक शाही, सामाजिक सेवा केन्द्र सोसेकका कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, गैसस महासंघका राधा मल्ललगायतले कोरोना रोकथामका लागि सञ्चालन गर्न लागिएको परियोजना कार्यक्रमहरूले एसएमएस अभियानलाई सघाउने बताएका छन् ।

साथै जिल्ला प्रहरी कार्यालय दैलेखमा कोरोना सङ्क्रमण रोकथामका लागि प्रहरीको सक्रियताको सम्मान गर्दै प्रहरी सुरक्षाकर्मी र प्रहरीमा आउने सेवाग्राहीहरूलाई कोरोना सङ्क्रमणबाट जोगाउन दैलेखका एक व्यापारी हरि कार्कीले नाै हजार मूल्यको अटोसेनिटाइजर मेसिन मङ्गलबार निःशुल्क उपलब्ध गराउनुभएको छ । हत्केला थापेपछि एक पटकलाई दुवै हातको सेनिटाइज गर्न पुग्ने गरी अटोसेनिटाइजले नियोफ्रेस झोल हत्केलामा झर्छ । करिब सात सय रुपियाँ लिटर मूल्य पर्ने एक लिटर नियोफ्रेसले सात सय जनालाई हात सफा गर्न पुग्छ ।

अटोसेनिटाइजर मेसिनमा नियोफ्रेस झोल राख्ने विधि, हत्केला थापेपछि आफैँ नियोफ्रेस हातमा झर्ने प्रक्रिया यसको प्रयोग विषयमा व्यापारी हरि कार्कीले प्रयोगात्मक अभ्यास गरेर देखाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?