logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनमा तीनसय असहायकाे पेट भर्दै विनय

फिचर |
समाज |
पढ्नै पर्ने |


लकडाउनमा तीनसय असहायकाे पेट भर्दै विनय


मुकुन्द गैरे
काठमाडौँ, भदौ १२ गते । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको बेला सारथिका रुपमा विनयजङ्ग बस्नेत एक समाजसेवीको रुपमा उभिनुभएको छ । अधिकांश मानिसले निषेधाज्ञाका कारणले घरमै बसेर सामाजिक सञ्जालमा व्यस्त हुने गरेका छन्, समाजसेवी बस्नेतकाे भने खाना पकाएर ठाउँठाउँमा बेवारिसे मानिसको लागि खुवाउनमै दिन बित्ने गरेको छ ।

उहाँ बिहान उज्यालो नहुँदैदेखि राति अबेरसम्म बेवारिसे मानिसहरूको लागि खटिरहनुहुन्छ । उहाँका दैनिकी एकाबिहान उठेदेखि शुरु हुन्छ । उहाँको दैनिकी बेवारिसे असहाय मानिसको लागि सहयोग गर्नु र सडकमा बेवारिसे भएर ज्यान गुमाएका मानिसको शव व्यवस्थापन गरेर बित्छ । बेवारिसे लासको दाहसंस्कारको कामसँगै असहाय मानिसको लागि खाना खुवाउन र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न मास्क वितरणमा उहाँ प्रायः व्यस्त हुने गरेको उहाँले बताउनुभयो ।

साथीभाइ र सहयोगी हातहरूका कारणले खाद्यान्न, तरकारी, तेल , नुनलगायत सामान सहयोगको रुपमा आउने गरेकाले अहिले केही सहज भएको उहाँले बताउनुभयो ।
उहाँले घरमै खाना बनाएर पशुपति र बालकुमारीलगायत विभिन्न ठाउँमा रहेका व्यक्तिलाई खाना पुर्याउने गर्नुहुन्छ । साथै, चितवनमा उहाँको सहयोगीहरूले पनि निषेधाज्ञामा परी खाना नपाएकाहरूको लागि खाना खुवाउँदै आएका छन् ।

अघिल्लो लकडाउनमा जस्तै अहिले पनि दैनिक तीन सय जना असहाय व्यक्तिलाई खाना खुवाएको उहाँ बताउनुहुन्छ । यस्ता बेवारिसे मानिसको लागि सरकारले सहयोग गर्ने कार्यक्रमहरू रहे पनि पुग्दो नभएको समाजसेवी विनय बताउनुहुन्छ ।

आगामी दिनमा सडकमा बेवारिसे मानिस हुन नदिने गरी सरकारले काम गर्न जरुरी रहेको उहाँले गोरखापत्रलाई बताउनुभयो । उहाँले अहिलेसम्म २८० वटा बेवारिसे लासको दाहसंस्कार गरिसक्नुभयो । केही लास व्यवस्थापन गर्न कागजी प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप