logo
२०८० चैत्र १६ शुक्रवार



काेराेना सङ्क्रमणबाट लहानका थप एक वृद्धको मृत्यु

फिचर |
प्रदेश |


काेराेना सङ्क्रमणबाट लहानका थप एक वृद्धको मृत्यु


सन्तोष सुवेदी
सिरहा, भदौ १३ गते । कोरोनाको सङ्क्रमण पुष्टि भएका लहान नगरपालिका–१८ भदैयाका एक ८४ वर्षीय वृद्धको शुक्रबार राति उपचारकै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
मृगौलासम्बन्धी पुरानो समस्या रहेको ती वृद्धलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्यासमेत भएपछि गत भदौ ६ गते प्रतिष्ठानमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । वृद्धमा कोरोनाको आशङ्कामा स्वाबको परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पोजिटिभ देखिएपछि उहाँलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार राति ११ः२० बजे उहाँको मृत्यु भएको थियो ।
लहान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादवले मृतकलाई लहान ल्याउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । शुक्रबार राति मृत्यु भएकोसमेत गरेर लहान नगरपालिकामा मात्र कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि शुक्रबार बिहान नै लहान नगरपालिका–९ की ६५ वर्षीया महिला तथा भदौ ८ गते लहान नगरपालिका–२४ का २२ वर्षीय युवकको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो ।
स्वास्थ्य प्रमुख यादवले मृतकहरूको सम्पर्कमा रहेका तीन वटै वडाका ५० जना व्यक्तिहरूको स्वाब सङ्कलन शनिबारदेखि लिने तयारी गरिरहेको जानकारी दिनुभयो । लहानका समेत गरेर सिरहा जिल्लामा भने सात जना व्यक्तिको कोरोना सङ्क्रमणको कारण मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?