रामहरि गजुरेल
नुवाकोट, भदौ १७ गते । समुदायस्तरमा कोराना सङ्क्रमणको महामारी फैलिएसँगै विगत एक महिनादेखि नुवाकोट जिल्लामा जारी निषेधाज्ञा अन्त्य भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निजी सवारी साधन जोरबिजोर प्रणाली अपनाएर बुधबारदेखि सन्चालन गर्न दिने निर्णय गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले निजी सवारीसाधन राति १२ बजेदेखि जोर बिजोर प्रणाली अनुसार चलाउन दिने निर्णय गरेको हो ।
बैठकले जिल्लामा रहेको कलकारखाना स्थानीय जनशक्ति प्रयोग गरी, भौतिक दूरी कायम गरी, स्वास्थ्य मापदण्ड पूरा गरेर कामदारलाई बाहिरको व्यक्तिसँग सम्पर्क हुन नदिई खाना र बासको छुट्टै व्यवस्था गरी सञ्चालन गर्न सकिने निर्णय गरेको छ । बैठकले जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाइ गर्ने, एम्बुलेन्स, शवबाहन, तरकारी, कुखुरा र चल्ला बोक्ने गाडीबाहेक निजी सवारी साधन मोटरसाइकलसमेत प्रवेश गर्न नदिने र पैदल पनि प्रवेश गर्न पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ । शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई पुनः एक साता थप गरिएको र नुवाकोट प्रवेश गर्ने ककनी नाकाको ककनी गापा वडा नं १ र २, धादिङबाट नुवाकोट प्रवेश गर्ने नाका भएको बेलकोटगढी नपा वडा नं २ र ५ मा भने भदौ २३ गतेसम्म कडाईलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।
जिल्ला प्रवेश गर्ने जुनसुकै व्यक्तिलाई सम्बन्धित स्थानीय तहका वडाहरुले अनिवार्य रुपमा संस्थागत क्वारेन्टीनमा राखी सो को विवरण प्रत्येक दिन ५ः०० बजे भित्र यस जिल्लाका सबै स्थानीय तहका वडाहरूले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा अनिवार्य रुपमा पठाउनुपर्ने निर्णय गरेको छ । जिल्लामा हालसम्म ८९ सङ्क्रमित भएकामा ७१ जना निको भई घर फर्किसकेका छन् ।