यलु जोशी
ललितपुर, भदौ १८ गते । ललितपुरका स्थानीयले रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्नुपर्ने माग गर्दे रथ तान्न शुरु गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले भीड नियन्त्रण गर्न पानीकाे फाेहाेरा तथा टियर ग्यासको प्रयाेग गरिए पनि कति घाइते भए भन्ने विस्तृत विवरण नआएको बताउनुभयाे ।
प्रहरीले अहिले स्थानीयलाई सम्झाइबुझाइ गरिरहेको ती अधिकृतले बताउनुभयाे । आजै स्थानीयले आफ्नो संस्कृति जोगाउने भन्दै भेला भइ रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गर्दै प्लेकार्डसहित धर्ना दिएका थिए । स्थानीय सुरेन्द्र तुलाधरले पटकपटक रथारोहणको प्रयास भए पनि बन्दाबन्दी र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदैआएको भन्दै संस्कृतिलाई मास्न नपाउने भन्दै विरोध जनाउनुभयो ।
उहाँले वैशाखमा नै तान्नुपर्ने रथ अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको गुनासो व्यक्त गर्दै स्वास्थ्य मापदण्डअनुसार जात्रालाई मिलाउनुपर्ने माग गर्नुभयो । काेरोना महामारीका कारण स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पाटनमा युवाहरू रथ तान्न तम्सिएका हुन् ।
रथयात्राका क्रममा धिमे बजा बजाउँदै युवा अघि लागेका थिए भने रथ तान्ने क्रममा पुल्चोकमा सयौँकाे सङ्ख्यामा युवा सहभागी थिए । कोरोना सङ्क्रमणको त्रास बढेको भन्दै प्रहरीले स्थानीयवासीसँग रथयात्रा रोक्न अनुरोध गरिरहेको थियो ।
प्रहरी तैनाथ भएपछि सहभागीहरू नाराबाजीमा उत्रेका छन् । उनीहरू प्रहरी दमन बन्द गर । जात्रा रोक्न पाइँदैन भन्दै नारा लगाइरहेका छन् । ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले जात्राका विधि पुर्याएर तथा भीड कम गरेर सम्पन्न गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, यो समयमा भीड गर्न नहुने भएकाले रथ तान्न वा अरु विधिमा चाहिने मात्रै मानिस जम्मा भएर रथ तान्न सकिन्छ ।
मूल पुजारी कपिल बज्राचार्यले विगतमा पनि धेरै वर्षमा अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको बताउनुभयो । अहिले महामारीका समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ । विसं २०७२ मा भूकम्पका कारण घर भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'देवताको प्रभावले अहिले सङ्कट पनि हट्नेछ, देवताको जात्रा रोक्नु राम्रो हुँदैन ।'