केशवराज पौडेल
काठमाडौँ, भदौ २२ गते । सामाजिक सञ्जालमा कोरोनाबाट मृत्यु हुनेको शव आफन्तलाई नदेखाउने र पोष्टमार्टमसमेत नगरेर गोप्य रुपमा मानव अङ्ग झिक्ने भन्दै अन्तरवार्ता दिँदै हिँड्ने एक व्यक्तिलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । अन्तरवार्तामा गरेको जस्तो दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएपछि महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार आफूलाई प्राकृतिक चिकित्सक रहेको बताउँदै सामाजिक सञ्जालमा कोरोनाको अफवाह फैलाएको आरोपमा सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको छ ।
कोरोनाको समयमा युट्युब च्यानलहरूमा अन्तरवार्ता दिँदै कोरोना सङ्क्रमणबाट मृत्युको व्यक्तिहरूको मानव अङ्ग निकालिने गरेको खुलमखुल्ला चुनौती दिँदै आएका लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुले कोरोना निको हुने भन्दै विभिन्न झारपात तथा वनस्पतिहरूसमेत बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘आफू प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छौँ’ महानगरीय अपराध महाशाखा एसएसपी दीपककुमार थापाले बताउनुभयो ।
थापाका अनुसार प्राकृतिक चिकित्सक बताउने लिम्बुलाई ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट पक्राउ गरेको हो । कोरोनाको कहरमा जनतामा अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ गरिएको र महानगरीय प्रहरी प्रभाग लतिलपुरमा बुझाउने तयारी रहेको एसएसपी थापाले बताउनुभयो । समाजमा अफवाह फैलाएको अभियोगमा मुद्दा चलाउने तयारीमा प्रहरी लागेको छ ।