चाँदनी आचार्य
लम्की (कैलाली ) भदौ २२ गते । कैलालीको लम्कीचुहा नगरपालिकामा सोमबारको परीक्षणमा ६३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ११६ जनाको परीक्षणमा ६३ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबारको परीक्षणमा पोजेटिभ देखिएका ७४ जना मध्ये ६३ जना लम्की नगरपालिकाका रहेकाछन् । अन्य ११ मध्ये धनगढीका ७ जना घोडाघोडीका १ जना र भिमदत्त नगरपालिका कञ्चनपुरका तीन जना रहेको सूचना अधिकारी श्रेष्ठले जनाउनुभयो ।
लम्कीचुहा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जयन्ती विसीले २४५ जना गोरुङ्गे सैनिक ब्यारेकका र ७५ जना नगरपालिकाका कर्मचारीको स्वाब सङ्कलन गरी पठाइएको मध्ये सोमबार विहान १२९ जनाको परीक्षणमा सबै नेगेटिभ आएको जनाउदै दिउँसोको परीक्षणमा उक्त संख्यामा पोजेटिभ देखिएको बताउनुभयो ।
पोजेटिभ देखिएका सबै पुरुष रहेका छन् । यो संख्यासँगै लम्कीचुहा नगरपालिकामा कोरोना पोजेटिभ देखिनेको संख्या ३२० पुगेको छ ।