चित्र मिजार
सिन्धुपाल्चोक, भदौ २५ गते । वर्षा सकिन लागे पनि सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहका गाउँगाउँमा अझै पहिरो रोकिएको छैन । बाढीपहिरोले सिन्धुपाल्चोकवासीलाई आजित बनाएको छ । घर छाडेर पहिरोपीडित लेक र जङ्गलमा गएर बसेका छन् । बाह्रबिसे नगरपालिका-३ को शम्शेरडाँडा, गुम्बेडाँडा, मैच्याङडाँडा, सिरुपाखर, सिस्नेगैरोमा पहिरो आउँदा २० घरभन्दा बढी बसाइँ सरेका छन् । उक्त सङ्ख्याका घरधुरी लेकमा गएर चाैँरी गोठमा आश्रित भएका छन् ।
'घरमा बस्न जाउँ भने पहिरोले थिच्ने डर छ, घर छाडेर खर्पा र सिलिङ्गे लेकमा रहेको चाैँरी गोठमा बसेका छौं' स्थानीय चक्र रुम्बाले पीडा पाेख्नुभयाे । बाटो बगाएपछि पहिरो अनुगमन गर्न प्राविधिकसमेत जान सकेका छैनन् । पहिरोले निगाले, खानी, बालुवा गाउँ पनि उच्च जोखिममा रहेको रुम्बाले जानकारी दिनुभयो ।
सो स्थानमा पहिरोले सयौँ रोपनी खेतबारी पनि बगाएको छ । सडक बाटो र गोरेटोबाटो पनि बगाएपछि आउजाउसमेत बन्द भएको छ । चाैँरी गोठमा बसेका पीडितलाई कुनै राहत पनि पुगेको छैन । जसका कारण उनीहरू भोकै पर्न थालेका छन् ।
बस्तीमाथिको जमिन धाँजा फाट्न थालेपछि हेलम्बु गाउँपालिका-५ बोल्देका ४१ घर सुरक्षित स्थानमा सरेका छन् । गाउँ पहिरोले छोप्ने अjस्था भएको सो गाउँका स्थानीयहरूले जानकारी दिएका छन् । भोटेकोशी गाउँपालिकाको डाक्लाङ पहिरोको कारण पानथलीका ३५ घरधुरी बसाइँ सर्न थालेका छन् ।