logo
२०८१ चैत्र १९ बुधवार



प्रदेश नं. २ मा १२६ जना सङ्क्रमित, ३०६ सङ्क्रमणमुक्त

फिचर |
प्रदेश |


प्रदेश नं. २ मा १२६ जना सङ्क्रमित, ३०६ सङ्क्रमणमुक्त



धर्बेन्द्र झा
जनकपुरधाम, भदौ २५ गते । प्रदेश नं.२ मा बिहीबार १२६ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन । विगत भन्दा सङ्क्रमणको रेसियो विस्तारै घट्दै गएपछि प्रदेश २ मा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर पाँच हजार ३११ मा झरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज २४ महिला र १०२ जना पुरुष गरी १२६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार ६६५ पुगेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज सर्लाहीमा सबैभन्दा बढी ४२ जना, धनुषामा २२ जना, सिरहामा २१ जना, पर्सामा नौजना, बारामा १५ जना, रौतहटमा दुईजना र सप्तरीमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । उहाँका अनुसार आज धनुषाको औरही गाँउपालिका वडा नंंं.१ पुरनदहियाका एक ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै प्रदेश नं.२ मा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको उहाँले बताउनुभयो । उहाँले प्रदेश नं.२ मा सबैभन्दा बढी ३०६ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएर घर फर्केका छन् । जसमध्ये ८९ जना महिला र २१७ जना पुरुष रहेको उहाँले बताउनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर फर्किनेको सङ्ख्या छ हजार २४७ पुगेको निमित्त स्वास्थ्य निर्देशक झाले बताउनुभयो ।

उहाँले बिहीबार सम्ममा प्रदेश नं.२ मा एक लाख आठ हजार ६५० जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा चार हजार २६९ जनाको नतिजा आउन बाँकी रहेको छ । प्रदेश नं.२ को विभिन्न जिल्लामा गरी एक हजार १५ जनाको स्वाब संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?