नेत्र शाही
खलङ्गा, भदौ २५ गते । जुम्लामा एकै दिन ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । निर्माण व्यवसायी संघ जुम्ला, जिल्ला कारागार जुम्ला सहित विभिन्न होम आईसोलेशनमा बसेका व्यक्तिहरुको नतिजा नेगेटिभ आएपछि घर फकाईएको हो । निर्माण व्यवसायी संघको कार्यालयमा रहेको आईसोलेशनमा रहेका २६ जना, जिल्ला कारागारमा आईसोलेशनमा रहेका ८ जना, हिमा गाउँपालिकाको आईसोलेशनमा रहेका ६ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेशनमा रहेका २ जना गरी ४२ जनाको नतिजा नेगेटिभ आएर आईसोलेशनबाट विदाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो ।
चन्दननाथ नगरपालिकाले निर्माण गरेको निर्माण व्यवसायीको हलको आईसोलेशनका व्यक्तिहरुलाई नतिजा नेगेटिभ आएपछि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र सहायक प्रमुख जिल्ला अधिकारी देवकोटासहितको टिमले विदाई गरेको थियो ।
निर्माण व्यवसायी संघमा रहेको आईसोलेशनमा रहेका व्यक्तिहरुलाई नियमित योगा र प्रतिरक्षा बढाउने आयुर्वेद औषधी र कारागारमा रहेका व्यक्तिहरुलाई समेत आयुर्वेद औषधी प्रयोग गरिएकाले थप बल पुगेको आयुर्वेद शाखा जुम्लाका प्रमुख डाक्टर प्रतिभा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आईसोलेशन र क्वारेन्टाईनमा शुरुवाती चरणदेखि योगा दिँदै आएका छौँ ।
कोरोना जितेर घर फर्किएकालाई विदाई गरिँदै