शालिग्राम नेपाल
चितवन, भदौ २६ गते । कोरोना संक्रमणबाट चितवनका एकजनाको मृत्यु भएको छ भने एकै दिन ७१ जनामा संक्रमण पुष्टि भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना हुनुभएको उहाँ २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि शुक्रबार विहान आएको पीसीआर नतिजामा उहाँमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
भरतपुर महानगरमा ६५सहित जिल्लामा ७१
शुक्रबार एकैदिन चितवनमा ७१ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुर महानगरपालिकामा मात्रै शुक्रबार ६५ जनामा कोरोना संक्रमण भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका भित्र ३१ जनामा कोरोना संक्रमण भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयो । यो प्रयोगशालामा अन्य जिल्लाका समेत गरेर ३४ जना संक्रमित भएको जानकारी दिएको थियो ।
यहाँ गरिएको परीक्षणमा १५६ को नमूना स्वाबबाट ३४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । अन्य जिल्लाका तीनजनामा कोरोना भाइरस संक्रमण भएको छ । जसमध्ये २६ जना पुरुष र पाँचजना महिला रहनुभएको छ । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका हुनुहुन्छ । यस्तै, महिलाहरु २४ देखि ५४ वर्ष उमेरको रहेको प्रयोगशाला प्रमुख डाक्टर अधिकारीले जानकारी दिनुभयो ।
यस्तैगरी, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये भरतपुर महानगरपालिकाका मात्रै ३४ जना रहेका छन् । जसमध्ये भरतपुर–१० का मात्रै नौ जना छन् । यस्तै, खैरहनी नगरपालिकाका चारजना, रत्ननगर नगरपालिकाका तीनजना रहेका छन् । चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या १२ सय नजिक पुगेको छ ।