logo
२०८० चैत्र १६ शुक्रवार



दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टाइनमा

फिचर |


दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टाइनमा


मुकुन्द गैरे
काठमाडौँ, भदौ २६ गते । दुई हप्ताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न होटलमा विदेशबाट फर्किएका मध्ये दुई हजार आठ सय भन्दा बढी नेपाली होटल क्वारेन्टाइनमा बसेका छन् ।
होटल संघ नेपाल (हान) र होटल व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारसम्म एक हजार ८८० जना हानमा र ९५९ महासंघ अन्तर्गतको होटलमा गरी जम्मा दुई हजार ८३९ जना बसेका हुन् । केही दिन अघि ३१ वटा होटल क्वारेन्टाइनको लागि थप गरेको सूचना जारी गरेको थियो । विदेशबाट आएर होटल क्वारेन्टाइनमा बस्न आउनेको लागि सबै पूर्वाधार मिलाएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताउनुभयो ।
सरकारले जारी गरेका मापदण्ड पूरा गरी सहज रुपमा बस्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । सुरुको लकडाउनमा पनि विदेशबाट आएका एक हजार पाँच सय व्यक्तिलाई होटल क्वारेन्टाइनमा राखेको महासचिव शाक्य बताउनुहुन्छ ।
पछि बस्नेको माग आएमा क्वारेन्टाइनको लागि होटलको संख्या बढाउन सकिने उहाँ बताउनुहुन्छ । विदेशबाट आउने नेपालीको लागि फाइदाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्व ठानेर सामान्य अवस्थामा भन्दा हाल ६० प्रतिशत कम शुल्कमा होटल उपलब्ध गराएको महासचिव शाक्यको भनाइ छ ।
विदेशबाट आएकालाई क्वारेन्टाइन होटलसम्म स्वास्थ्य मापदण्ड पूरा गरी आफ्नै गाडीमा राखेर ल्याउने गरेको छ । विदेशबाट आउने नेपाली बस्ने होटेल क्वारेन्टाइनमा होटल सञ्चालकले होटल छिर्ने परिसरको छुट्टै गेटदेखि वाइफाइ सुविधा सम्म भएको मापदण्ड पूरा गर्नुपर्नेछ ।
क्वारेन्टाइनको लागि कम्तिमा २० कोठा भएको, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको हुनुपर्छ ।
सकेसम्म घुमफिर गर्नसक्ने खुला ठाउँ र बगैँचालगायतका मापदण्ड हुनुपर्ने व्यवस्था छ ।
सरकारले विदेशबाट स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई बिभिन्न मुलुकबाट व्यवस्थित तरिकाले स्वदेश ल्याउने काम गरेको छ ।
नेपाली सेनाले फर्कनु भएकाहरूलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर कोरोना रिपोर्ट नेगेटिभ आएकाको हकमा सिधै घरको क्वारेनटाइनमा पठाउने व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप