अमृतप्रसाद पौडेल
बेनी, भदौ २९ गते । हिमाली जिल्ला म्याग्दीमा चालू आर्थिक वर्ष २०७७÷०७८ मा दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ भने १५ वटा पुल निर्माणको चरणमा रहेका छन् ।
गत आर्थिक वर्षमा सकिनु पर्ने भए पनि लकडाउनका कारणले गर्दा पछिल्लो चार महिना काम गर्न नपाए पछि सम्पन्न गर्न नसकिएको पुल चालू आर्थिक वर्षमा सकिने भएको म्याग्दी जिल्ला भित्रको झोलुङ्गे पुल सम्बन्धी कार्यक्रम सञ्चालन गरी रहेको संस्था मिलन म्याग्दीकी निर्देशक दीवा पुनले बताउनुभयो ।
पुनका अनुसार जिल्ला भित्र सञ्चालित १७ झोलुङे पुल कार्यक्रम मध्ये मंगला गाउँपालिका–२ बाबियाचौरको काफचौर झेलुङ्ेपुल र मंगला गाउँपालिका–४ बरंजाको जुगेपानी झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको छ ।
अहिले लकडाउन खुलेको अवस्था भएकाले बाँकी रहेका १५ पुल निर्माणको कार्य तीब्र गतिमा भैरहेकाले चालू आर्थिक वर्ष भित्रै पुल निर्माण सम्पन्न भइसक्ने निर्देशक पुनले बताउनुभयो । म्याग्दीको बेनी नगरपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहमा झोलुङ्गे पुल कार्यक्रम भइरहेको छ ।
मुस्ताङमा चार बन्दै
हिमालपारीको जिल्ला मुस्ताङको बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–५ को डोल्पा जाने मार्गमा पर्ने साङता गाउँ नजिकै घोका खोलामा ७४ मिटर लम्बाइको पुल निर्माण शुरु भएको छ । त्यस्तै बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–३ कागबेनीको फुझिलिङमा १०२ मिटर लम्बाइको पुल निर्माण कार्य थालिएको छ । १०० मिटर लामो नर्सिङ खोलामा तेताङ र छोङनाङ जोड्ने पुल र ताङवे खोलामा ८४ मिटर लामो पुल निर्माणको चरणमा रहेको मुस्ताङ कल्याणकारी संस्थाका प्राविधिक कुलबहादुर थकालीले बताउनुभयो । थकालीका अनुसार करिब एक करोड ३३ लाखको लागतमा निर्माण हुने चारवटै पुल चालू आर्थिक वर्ष भित्रै सकिने थकालीले बताउनुभयो ।