logo
२०८१ मंसिर १५ शनिवार



मौरी चराउन कैलालीबाट दाङ

फिचर |
प्रदेश |


मौरी चराउन कैलालीबाट दाङ


लम्की समाचारदाता

लम्की (कैलाली), भदौ ३० गते । कैलालीको घोडाघोडी नगरपालिका–२, साँडेपानीकी व्यावसायिक मौरीपालक उमा खत्री दाङ लगेर मौरी चराउनुहुन्छ । वर्षामा मौरीलाई खानेकुराको अभाव भएपछि चराउन कैलालीदेखि दाङ लगेको उमाले बताउनुभयो ।
सामान्यतया एउटा घारबाट वर्षमा तीनपटक मह झिक्ने गरिन्छ तर उमाले भने चारपटक सम्म मह निकाल्दै आएको बताउनुभयो । मौरीलाई प्रशस्त मात्रामा आहारा पुगेपछि चारपटक सम्म मह काढ्न सकिने उहाँले अनुभव सुनाउनुभयो ।
उहाँ वर्षामा तराईमा मौरीको आहारा नभेटिने भएकाले उहाँ मौरी चराउन माइती गाउँ दाङको तुलसीपुर उपमहानगरपालिका–१२, रझेनासम्म पुग्नुभएको हो । दाङमा वर्षामा पनि प्रशस्त मात्रामा मकै लगाउने भएकाले मौरीलाई आहाराको कमी नहुने र मह पनि उत्पादन हुने उमाले बताउनुभयो ।
बन्दाबन्दीले मौरीको आहारा लागि चिनी किन्नसमेत समस्या भएपछि मौरी चराउन दाङ लगिएको उहाँले बताउनुभयो । उमाले हरेक वर्ष असारदेखि असोजसम्म मौरी चराउन दाङ लैजाने गर्नुभएको छ ।
सात वर्ष पहिले सातवटा घारमा ५० हजार लगानीबाट व्यावसायिक मौरीपालन सुरु गर्नुभएकी उमाले पछिल्लो समय वार्षिक २५ क्विन्टल मह उत्पाद गरेर वार्षिक सात लाख आम्दानी गर्दै सफल उद्यमीको पहिचान बनाउनुभएको छ । अभिशेख मौरीपालन फार्म नामबाट सात वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएकी उमाको व्यवसायमा समेत कोरोनाले असर गरेको उहाँ बताउनुहुन्छ । १५० घारमा मौरी रहेकामा अहिले मौरी घट्दै गएका छन् भने मह उत्पादन पनि घटेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?