बाबुराम देवकोटा
बिजयछाप (सिन्धुली), असोज १२ गते । गोलन्जोर गाँउपालिका–५ बिजयछापका किसान बिजय श्रेष्ठलाई टनेलभित्र गरेको गोलभेडा खेती गरी खाने मेसो बनेको छ । बिहान जुरुक्क उठेदेखि बेलुका झिमिक्क रात नपरुन्जेल गोलभेडाको बोटलाई नै सुम्सुम्याउदै उहाँको दिनचर्या बित्ने गरेको छ । गोलभेडाको बोट सुम्सुम्याउदा उहाँलाई दैनिक दुई हजार रुपियाभन्दा बढी आम्दानी पनि भइरहेको छ ।
गत बैशाख महिनादेखि सुरु गरेको टनेलभित्रको गोलभेडा खेती नै यतिखेर आफुलाई गरि खाने मेलो बनेको उहाँले सुनाउनुभयो । किसान श्रेष्ठ भन्नुहुन्छ, ‘गोलभेडाको हेरचाह गर्दैमा फुर्सद छैन । टनेलभित्र पसेपछि दिन बितेको पत्तै हुदैन ।’ पाँच लाख रुपिया लगानी गरी १० वटा प्लाष्टिकका टनेल हालेर गोलभेडा खेती गरेको उहाँको भनाई छ ।
सदरमुकाम सिन्धुलीमाढीस्थित ढुंग्रेबास बजारमा आफ्नै घरमा झण्डै पाँच बर्ष होटल व्यवसाय गर्दा राम्रोसँग नचलेपछि जन्मथलो बिजयछाप आई गोलभेडा खेती गरेको उहाँले जानकारी दिनुभयो । किसान श्रेष्ठले भन्नुभयो, ‘फल लाग्दै माथि गएपछि बोटको तलका पात पनि काट्दै जानुपर्छ, गोडमेल पनि गरिरहनु प-यो । त्यत्तिकै आम्दानी लिन कहाँ सजिलो छ र ?’
अहिले दैनिक रुपमा ८०/९० केजी गोलभेडा उत्पादन हुदै आएको र व्यापारी टनेलमा नै आएर ७० रुपियासम्ममा किनेर लैजाने गरेको उहाँले बताउनुभयो । त्यसो त किसान श्रेष्ठले सिर्जना जातको गोलभेडा खेती गर्नुभएको छ । उक्त जातको गोलभेडाले हावापानी र हेरचाह मिल्यो भने एक बर्षसम्म उत्पादन दिने बताईएको छ । बैशाखदेखि सुरु गरेको गोलभेडा खेतीबाट असारदेखि उत्पादन लिन सुरु गरेका उहाँको भनाई छ ।
‘सुरु–सुरुमा प्रतिकेजी ३० रुपियामा बिक्री गरेको थिए, अहिले प्रतिकेजी ७० रुपियाले गईरहेको छ,’ उहाँले भन्नुभयो, ‘उत्पादन भएको गोलभेडा बिक्री गर्न भने कुनै समस्या छैन । गाँउघरमा पनि फाट्टफुट्ट जान्छ । नत्र व्यापारी घरमा नै आएर उठाउछन् ।’
सदरमुकाम सिन्धुलीमाढीमा अहिले टमाटर १ सय ५० रुपियाँमा बिक्री भईरहेको छ । आफुले सस्तो मूल्यमा टमाटर बिक्रि गरे पनि बिचौलियाले नाफा खाई बजारमा टमाटरको मूल्य बढेको उहाँलको गुनासो छ । ‘बढी मूल्य लिएर बिक्री गर्न खोज्दा व्यापारीले तरकारी नै उठाउदैनन्, कुहिएर जाने समस्या हुन्छ । विभिन्न समस्या तेर्सिएकोले व्यापारीले दिने मूल्यमा नै तरकारी बिक्री गरी चित्त बुझाएर बस्नुपरेको छ’ उहाँले थप्नुभयो ।
अहिले गोलभेडा खेतीबाट मासिक सरदर ८० हजार रुपिया जस्तो कमाई भई रहेको उहाँले जानकरी दिनुभयो । स्थानीय तहले किसानलाई दिने अनुदानप्रति भने उहाँको गुनासो छ । काम नै नगरी कागज मिलाउने किसानले अनुदान खाईरहेका र तर दिनरात पसिना बगाई मिहेनत गर्ने व्यवसायिक किसान भने उक्त सुविधाबाट बञ्चित भएको उहाँको भनाई छ ।
किसान श्रेष्ठले भन्नुभयो, ‘अनुदान सहयोग कागजमा काम गर्नेले खाने हो । जस्ते काम गरेर फुर्सद पाएको छैन, त्यसले पाएको छैन ।’ त्यसो त उहाँले गोलभेडा खेतीसँगै काँक्रो, घिरौला, करेला, खेती पनि सँगै खुल्ला रुपमा गर्नुभएको छ । तर यो खेती गोलभेडाको तुलनामा थोरै छ । उहाँका पिता बिष्णुबहादुर श्रेष्ठ जिल्लामै जुनार खेती गर्ने पहिलो व्यवसायिक किसान हुनुहुन्छ ।
उहाँले बुबाको बिडोलाई समाउदै ५० रोपनी जमिनमा जुनार खेती पनि गरेका जानकारी दिनुभयो । भर्खर एक हजार आठ सय बोट जुनारको बिरुवा नयाँ तरिकाले रोपेको किसान श्रेष्ठको भनाई छ । उहाँले गोलभेडा, जुनार खेतीसँगै च्यान्दलर जातको ओखर खेती पनि गर्नुभएको छ । एभोकाडो र ड्रागन फल पनि रोप्ने तयारी गरेको किसान श्रेष्ठको भनाई छ ।