logo
२०८१ असोज १२ शनिवार

 अपाङ्गता भएका विद्यार्थीकाे पीडा  



विद्यालय नखुल्दा राेकियाे पठनपाठन, वैकल्पिक माध्यमले काम गरेन

उनीहरू भन्छन्, ‘पढ्न मन लाग्छ, माध्यम छैन’

फिचर |
पढ्नै पर्ने |


विद्यालय नखुल्दा राेकियाे  पठनपाठन, वैकल्पिक माध्यमले काम गरेन
घरमै अध्ययन गर्दै स्वस्तिका सिंह । तस्बिरः मुना हमाल ।


मुना हमाल
सुर्खेत, असोज २५ गते । वीरेन्द्रनगर–८, खजुरामा रहेको शिद्ध बहिरा बालक स्कूलको ठिक अगाडि सोही विद्यालयमा अध्ययनरत स्वस्तिका सिंहको घर छ । तर उहाँ न विद्यालय जान सक्नुहुन्छ, न त घरमै बसेर पढ्न सक्नुहुन्छ । विद्यालयमा साथीहरूसँग खेल्दै, रमाउँदै पढेको सम्झँदा उहाँलाई पीडा हुन्छ । र, मनमा एउटै प्रश्न खेलिरहन्छ– ‘स्कूल कहिले खुल्ला ?’

स्वस्तिका मात्र होइनन्, उहाँजस्ता थुप्रै दृष्टिविहीन बालबालिका कोरोना कहरको कारण अध्ययनबाट वञ्चित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट साधारण विद्यार्थीको लागि वैकल्पिक सिकाइको अभ्यास भए पनि अपाङ्गताजस्ता विशेष अवस्थाका बालबालिकाको लागि सिकाइको प्रभावकारी विकल्प उपयाेग भएकाे देखिँदैन ।  कक्षा ६ मा अध्ययनरन १३ वर्षीया स्वस्तिका साङ्केतिक भाषामा आफ्नाे पीडा पोख्नुहुन्छ । ‘पढ्न मन त लाग्छ, तर पढ्ने उपाय (माध्यम) छैन । घरमै कसरी पढ्ने ? ’

प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार कर्णालीका ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीको लागि अपाङ्गमैत्री स्रोतकक्षा सञ्चालन गरिएको छ । ती विद्यालयमा ६५२ जना विद्यार्थी अध्ययनरत छन् । वीरेन्द्रनगरमा अवस्थित शिद्ध बहिरा स्कूल (विशेष विद्यालय) मा ९५ जना विद्यार्थी आवासीय रुपमा पढ्छन् । अहिले विशेष विद्यालयका साथै सबै आवासीय स्रोतकक्षा बन्द छन् । यसले गर्दा आवासीय सुविधामा बसेर पढिरहेका विद्यार्थी आ–आफ्नो घर गएका छन् । 

शिद्ध बहिरा स्कूलमै पढ्ने वीरेन्द्रनगर–११ की अस्मिता भट्टराईको समस्या पनि उस्तै छ । उहाँ बेलाबेला किताबका पाना पल्टाउनुहुन्छ, एकछिन हेर्नुहुन्छ र नबुझेपछि दिक्क मान्दै किताब थन्काउनुहुन्छ । उहाँसँग पनि एउटै प्रश्न छ, ‘स्कूल कहिले लाग्छ ? घरमा बस्दा दिक्क लागिसक्यो ।’

अपाङ्गता भएका विद्यार्थलाई घरमा पढ्न र पढाउन सहज छैन । बौद्धिक अपाङ्गता भएका विद्यार्थी अझ बढी प्रभावित छन् । घरमा अभिभावकले समेत उनीहरूकाे भाषा पठनपाठनकाे भाषा जान्दैनन् । शिद्ध बहिरा स्कूलका अधिकांश विद्यार्थी सुर्खेत बाहिरका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले विद्यालय सञ्चालनमा थप अन्यौल देखिएको प्रधानाध्यापक चन्द्रबहादुर कार्की बताउनुहुन्छ ।

‘हामीले चाहेर पनि पठनपाठनका कार्यक्रमहरू अघि बढाउन सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशसहित अन्य प्रदेशका बालबालिका पनि पढ्ने भएकोले यहाँ ल्याएर तत्काल पढाउन सकिने अवस्था छैन ।’ विद्यार्थी भर्नाको कामसमेत अघि नबढेको उहाँले बताउनुभयो ।
सुर्खेतकै शिखर मावि, रामघाटमा अध्ययरत प्रकाश सञ्ज्याल दृष्टिविहीन हुनुहुन्छ । विद्यालयको आवासमै बसेर पढ्ने उहाँ लकडाउनपछि घर (कालीकोट) जानुभएकाे छ । गाउँमा रेडियो सुनिँदैन । इन्टरनेटको समेत पहुँच छैन । घरमै पढ्ने उहाँसँग ब्रेललिपिसम्बन्धी सामग्री छैनन् । घर गएपछि पढ्न नपाएको उहाँकाे दुखेसो छ । 

कर्णाली प्रदेशमा भौगोलिक विकटताका कारण पठनपाठन सुरु गर्न अझ समस्या छ । टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनको पर्याप्त पहुँच छैन । जसोतसो पहुँचमा पुगेकालाई पनि सिकाइमा अभ्यस्त नहुँदा समस्या छ । नाै कक्षामा अध्ययनरत भेरीगङ्गा नगरपालिकाका–१२, राझीगाउँका दुर्ग परियार रेडियोमा पढाएको सुन्नुहुन्छ । तर, सामग्री नहुँदा लेख्न सक्नुहुन्न । ‘हामीलाई रेडियोबाट त्यति सहज हुने रहेनछ,’ उहाँले भन्नुभयाे, ‘पढाइ भएको रेडियोबाट सुन्ने काम मात्र हुन्छ, ब्रेललिपि नहुँदा समस्या छ ।’

श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा अध्ययनरत दुधकली कार्कीलाई पनि रेडियोमा सुनेकाे विद्यालयमा पढेको जस्तो लाग्दैन । ‘विद्यालयमा त सबै माध्यमबाट पढाइ हुन्थ्यो, पढ्न धेरै सजिलो थियो,’ उहाँले भन्नुभयो, ‘घरमा रेडियो सुन्नेबाहेक अरु केही काम भएको छैन ।’

कोरोनाका कारण चैतयता सम्पूर्ण विद्यालय बन्द छन् । पछिल्लो समय केही विद्यालयहरू खुल्न पनि थालेका छन् । केही विद्यालय फेरि बन्द हुँदैछन् ।  सरकारले विद्यालय सञ्चालन नगर्न भनिरहेको छ । सरकारले शिक्षण सिकाइलाई सहजीकरण गर्न वैकल्पिक माध्यमलाई अघि सारेको छ । तर वैकल्पिक माध्यम अपाङ्गता भएका बालबालिकालाई उपयुक्त भएकाे छैन ।

विद्यार्थी टाढा हुँदा समस्या
शिखर मावि रामघाटका प्रध्यानाध्यापक टेकबहादुर वलीले छात्रावासमा बस्ने सबै विद्यार्थी विद्यालयबाहिर हुँदा विद्यालयले सहजीकरण गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार रामघाटको आवासमा १३ जना दृष्टिविहीन विद्यार्थी बस्दै आएका थिए । ब्रेललिपिका केही सामग्री केही विद्यार्थीलाई दिए पनि भौगोलिक कारणले सबैलाई पुर्याउन नसकिएको उहाँको भनाइ छ ।

श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामका स्रोतशिक्षक सुशील खड्का विद्यार्थीहरू आ–आफ्नो घरमा भएकाले ब्रेल सामग्रीसमेत वितरण गर्न नसकिएको बताउनुहुन्छ । वीरेन्द्रनगरमै रहेका केही विद्यार्थीहरूलाई ब्रेल सामग्री उपलब्ध गराए पनि ग्रामीण भेगमा रहेका विद्यार्थीहरू पढाइबाट बञ्चित भएका उहाँको भनाइ छ । इत्राममा १५ जना विद्यार्थी विद्यालयकै आवासमा बसेर अध्ययन गर्थे । ती विद्यार्थी घर जाँदा सम्पर्क हुन नसकेको उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेका अनुसार प्रदेश र सङ्घीय सरकारले कुनै कार्यक्रमको दिएको अवस्था छैन । अपाङ्ग सशक्तिकरण केन्द्र, सुर्खेतले शिक्षक र अभिभावकलाई तालिम दिने तयारी गरे पनि अरु खासै केही नभएको उहाँको भनाइ छ ।

घरमा बस्दा नैराश्य
हाेस्टेलमा बसेर बढ्दै आएका विद्यार्थी घरमा हुँदा उनीहरूले झन् एक्लोपन महसुस गर्ने गरेका छन् । स्वस्तिकाका आमा सविता सिंह छोरीले आफूसँग कुराकानी गरिदिने साथीहरू समेत भेट्न नपाउँदा नरमाइलो मान्ने गरेको बताउनुभयो । अस्मिताकी आमा सविता भट्टराइले पनि छोरीले टाउको दुख्ने र दिक्क लाग्ने समस्या सुनाउने गरेको बताइन् ।

अपाङ्गता भएका विद्यार्थी कोरोनाका कारण दोहोरो समस्यामा छन् । एकातिर स्वास्थ्य सुरक्षाको जोखिम र अर्काेतिर पठनपाठन बन्द । भौगोलिक विकटताले गर्दा हरेक ठाउँ अपाङ्गमैत्री छैनन् । परिवारले भाषा नजान्दा बहिरा विद्यार्थीहरूलाई पठनपाठनमा कठिनाइ छ । कोरोनाको महामारीको समयमा उनीहरूको स्वास्थ्य सुरक्षादेखि लिएर हेरचाहमा पनि चुनौति छ ।
शिक्षक सुरेश खड्काले छात्रावासमा बसेर पढ्ने विद्यार्थी घर जाँदा अभिभावकलाई समेत उनीहरूको हेरचाहबारे थाहा नहुँदा जोखिम रहेको बताउनुभयो । 

सहजीकरणका प्रयास
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले केही गैरसरकारी संघसंस्थाले घरमै अध्ययन गर्ने सामग्री सहयोग गरेको बताउनुभयो । यद्यपि ती सामग्री सबै विद्यार्थीसम्म पुग्न सकेका छैनन् । प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमाल अपाङ्गता भएका विद्यार्थीका लागि छुट्टै विशेष कार्यक्रम नभएको बताउँनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?