logo
२०८१ असोज १२ शनिवार



वन्यजन्तुको मार्गमा अल्झियो कैलालीकाे हुलाकी सडक

फिचर |
प्रदेश |


वन्यजन्तुको मार्गमा अल्झियो कैलालीकाे हुलाकी सडक


अविनाश चौधरी
धनगढी, असोज २८ गते । वन्यजन्तुको ओहोरदोहोरका लागि ‘अन्डरपास’ र ‘ओभरपास’ मार्ग बनाउनुपर्ने वन कार्यालयको अडानपछि कैलालीको वसन्ता वन क्षेत्रअन्तर्गत दुई किलोमिटर खण्डमा हुलाकी सडक निर्माणको कार्य अझै अगाडि बढेको छैन ।
डिभिजन वन कार्यालयले वन्यजन्तुको लागि मार्ग निर्माण गरिएमात्रै सडक विस्तार गर्न पाइने अडान लिएपछि दुई किलोमिटरमा हुलाकी राजमार्गको काम अल्झिएको हो । सडक विस्तार गरिँदा वन्यजन्तुको ओहोरदोहोरका लागि ‘अन्डरपास’ र ‘ओभरपास’ मार्ग बनाउनुपर्ने भन्दै कार्यालयले रुख कटानको आदेश प्राप्तिका लागि फाइल अगाडि बढाएको छैन ।
रुख कटानको आदेश प्राप्त नभएकाले ट्रयाकसमेत खोल्न नसकेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका इन्जिनीयर पदम मडैले दुई किलोमिटरमा सडक निर्माणको टुङ्गो अझै लाग्न नसकेको बताउनुभयो ।
‘ईआइए र आईई गरेर रुखमा टाँचासमेत लगाइसकिएको छ’, उहाँले भन्नुभयो । ‘तर, कटान आदेश प्राप्त नभएका कारणले काम अगाडि बढेको छैन ।’ सो खण्डमा एक सय रुख काट्न आवश्यक रहेको जनाइएको छ ।
सत्तीदेखि धनगढीसम्मको ६२ किलोमिटर सडकमध्ये ४४ किलोमिटर क्षेत्रमा पाँच वर्ष अगाडि नै सडक निर्माणको कार्य सम्पन्न भएको थियो । बसन्ता वनक्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटर खण्डमा पनि दुई लेनको सडक विस्तारको कार्य लगभग सम्पन्न भइसकेको छ । तर, कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने दुई किलोमिटरमा भने सडक निर्माणको कार्य रोकिएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले वसन्ता वन अन्तर्राष्ट्रिय जैविक मार्ग रहेकाले वन्यजन्तुका लागि अनिवार्य रुपमा मार्ग बनाउनुपर्ने शर्त राखेको बताउनुभयो । उहाँले हुलाकी सडक आयोजनाको कार्यालयले अन्डरपास र ओभरपास निर्माणका लागि तत्परता नदेखाएको जिकिर गर्नुभयो ।
‘विकास निर्माण कार्य रोक्नु हुन्न र वन पनि अतिक्रमण हुनबाट जोगाउन आवश्यक छ’, कँडेलले भन्नुभयो । ‘त्यसैले सडकको दक्षिणतिर वन क्षेत्रमा आयोजनाले तारबार गर्ने पनि सहमति भएको थियो । तारबार गरिएपछि मात्रै फाइल अगाडि बढ्छ ।’
वन्यजन्तुको लागि अन्डरपास र ओभरपास बाटो निर्माण गर्दा धेरै बजेट आवश्यक पर्ने भन्दै हुलाकी सडकको आयोजनाले सोको लागि सहमति जनाउन सकेको छैन ।
यसैबीच, कैलालीमा पर्ने कुल ८३.७ किलोमिटर हुलाकी सडक फराकिलो बनाउने कार्य दशैँपछि सुरु हुने आयोजनाको कार्यालयले जानकारी दिएको छ । त्यसको लागि सर्वेसमेत भइसकेको आयोजनाका इन्जिनीयर मडैले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?