logo
२०८१ बैशाख ६ बिहीवार



बाँकेमा नवमीका दिन १५७ संक्रमित निको भएर घर फर्किए जोखिममुक्त बन्यो बाँके

फिचर |
प्रदेश |


बाँकेमा नवमीका दिन १५७ संक्रमित निको भएर घर फर्किए जोखिममुक्त बन्यो बाँके


सिराज खान
नेपालगञ्ज, कात्तिक ९ गते । बडा दसैंको पुर्वसन्ध्या आइतवार नवमीका दिन बाँकेका विभिन्न आइसोलेसनबाट एकैदिन १५७ जना संक्रमित कोरोनामुक्त भै घर फर्किएका छन् ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा एकैदिन यति धेरै संख्यामा संक्रमित निको भएर डिस्चार्ज भएको यो पहिलो पटक हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बडा दसैंको एकदिन अघि नवमीका दिन आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष गरी १५७ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको बताउनुभयो ।
उहाँले उहाँहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखेर निगरानी गरिएकोमा सबैको स्वास्थ्य सामान्य भएका कारण घर पठाईएको बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार सरकारले संक्रमितहरुमा पछिल्लो तीन दिनमा संक्रमणको लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने मापदण्ड बनाएकोले सोही अनुसार उहाँहरुलाई डिस्चार्ज गरिएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५१४ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४५१ जना अझै पनि उपचाररत हुनुहुन्छ ।
बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । सरकारले पाँचसय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई अति जोखिममा राखे पनि बाँकेमा आइतवारबाट ४३३ जनामात्र आईसोलेसनमा बाँकी रहेकाले यो जिल्ला जोखिम मुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले बताउनुभयो ।
यसैबीच जिल्लामा शनिवार र आइतवार विहान गरेर ३५ जना संक्रमित थपिएका छन् । शनिवार भेरीलगायत जिल्लाका तीनवटै प्रयोगशालामा  ३२ जना थपिएका थिए भने आइतवार बिहान ३ जना थप थपिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?