logo
२०८१ असोज १२ शनिवार



सुरक्षित आवास कार्यक्रम : खरको छानो विस्थापन हुँदै

फिचर |
समाज |


सुरक्षित आवास कार्यक्रम : खरको छानो विस्थापन हुँदै
तस्विर-फाइल


दमौली, कात्तिक १३ गते। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तनहुँमा खरको छानो विस्थापन गर्दै जस्तापाताको छानो छाइने भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा एक हजार नौ सय १४ घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो ।    
    
 कार्यक्रमअन्तर्गत क्षेत्र नं १ मा एक हजार ५० र क्षेत्र नं २ मा आठ सय ६४ घरमा खरको छाना हटाइन लागिएको छ । खरको छाना भएका घर असुरक्षित हुने भएकाले सरकारले सबै जिल्लाका खर÷फुसको छानो हटाउन सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ । घरलाई जस्तापाताले छाउन स्थानीय तहमार्फत् प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ । 

 कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठका अनुसार क्षेत्र नं १ अन्तर्गत देवघाट गाउँपालिकामा दुई सय १२, आँबुखैरेनी गाउँपालिकामा एक सय ९२, बन्दीपुर गाउँपालिकामा एक सय ९१, भानु नगरपालिकामा दुई सय ३६ र व्यास नगरपालिकामा दुई १९ घरको खरको छाना विस्थापित हुनेछन् ।    
    
 त्यस्तै क्षेत्र नं २ अन्तर्गत भीमाद नगरपालिकामा एक सय ७१, शुक्लागण्डकी नगरपालिकामा एक सय ५१, ऋषिङ गाउपालिकामा एक सय ५४, घिरिङ गाउँपालिकामा एक सय ६१, म्याग्दे गाउँपालिकामा एक सय ३२ तथा व्यास नगरपालिका–५ र ६ मा ९५ घरधुरीका खरको छाना विस्थापित गरिनेछ ।    
    
 कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका सांसदको अध्यक्षतामा जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु रहेको जिल्लास्तरीय कार्यान्वयन समिति गठन गरिएको छ ।    
    
 खरको छानो विस्थापन गर्न स्थानीय तहहरुले लाभग्राही छनोटको तयारी थालेका छन् । घिरिङ गाउँपालिकाले कार्यान्वयन कार्यविधि २०७५ को दफा १० (ख) अनुसार सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचना जारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवराज लामिछानेले जानकारी दिनुभयो ।  व्यास नगरपालिकाले पनि कार्यक्रमका लागि लाभग्राही छनोट गर्न प्रक्रिया अघि बढाइसकेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?