logo
२०८१ असोज १२ शनिवार



न्यायपरिषद् सदस्यमा श्रेष्ठ सिफारिस

फिचर |


न्यायपरिषद् सदस्यमा श्रेष्ठ सिफारिस


नारायण काफ्ले
काठमाडौँ, कात्तिक २२ गते । नेपाल बार एशोसिएशनले आफ्ना तर्फबाट सिफारिस हुने न्यायपरिपषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । परिषद् सदस्य रामप्रसाद सिटौलाको कार्यकाल सकिएपछि बारले श्रेष्ठको नाम सिफारिस गरेको हो । श्रेष्ठ यसअघि पनि परिषद् सदस्य रहिसक्नुभएको छ । श्रेष्ठको सिफारिसको जानकारी अब बारले न्याय परिषद् र राष्ट्रपति कार्यालय दुबैलाई दिनेछ । सोपछि संसदीय सुनुवाइको प्रक्रिया प्रारम्भ हुनेछ ।
बार महाससचिव लीलामणि पौडेलले श्रेष्ठको नाम सिफारिस भएको बताउनुभयो । पौडेलले भन्नुभयो, ‘‘छलफलका क्रममा त विभिन्न राय प्रकट भए तर, हामीले अन्तिम निर्णय भने सर्वसम्मत नै गरेका छौँ । अब सम्बन्धित निकायलाई जानकारी दिनेछौँ ।’’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादको असर सदस्य सिफारिसमा पनि परेको छ । दुई समूहले फरक फरक उम्मेदवार प्रस्ताव गर्दा निर्णय प्रक्रियाअघि व्यक्तिका नाममा रायसहित छलफल भएको थियो । श्रेष्ठसहित महेशकुमार नेपालको नाममा पनि पदाधिकारी तथा सदस्यहरुले राय दिएका थिए । २५ सदस्यीय बारमा २२ जना नेकपा निकट छन् । श्रेष्ठलाई कांग्रेस निकट कानुन व्यवसायीबाट प्रतिनिधित्व गर्ने तीन जनाले पनि समर्थन गरेका छन् ।
श्रेष्ठ यसअघि पनि बारकै तर्फबाट परिषद सदस्य बन्नुभएको थियो । उक्त समयमा पनि श्रेष्ठ र कांग्रेस निकट वरिष्ठ अधिवक्ता बाबुराजा जोशीबीच प्रतिस्पर्धा थियो । आन्तरिक मत विभाजनमा श्रेष्ठले १० मत पाउँदा जोशीले ६ मतमात्र पाउनुभएको थियो । तत्कालीन बार १७ सदस्यीय थियो । सर्वोच्चमा हाल न्यायाधीश रहनुभएका हरिकृष्ण कार्की अध्यक्षको कार्यसमितिले उहाँलाई सिफारिस गरेको थियो ।
तर, नयाँ संविधान जारीपछि परिषद् सदस्यको पुनर्नियुक्ति विवाद भएको थियो । सो विवादपछि तत्कालीन सदस्य श्रेष्ठ र रामप्रसाद सिटौला पदमुक्त हुनुभएको थियो । पछि सिटौला बारका तर्फबाट सिफारिसमा पर्नुभएको थियो । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः २०७३ साउनमा सिफारिस गर्नुभएको थियो । तर, ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता भएसँगै राजीनामा दिएपछि श्रेष्ठको नाम नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट फिर्ता भएको थियो । श्रेष्ठको स्थानमा प्रचण्डले पदमप्रसाद वैद्धिकलाई सदस्यमा सिफारिस गर्नुभएको थियो । बैद्धिकले आफ्नो कार्यकाल पूरा नगर्दै राजीनामा दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?