logo
२०८१ असोज १२ शनिवार



नेकाँ पदाधिकारी बैठकमा महाधिवेशन फागुनमै गर्न सुझाव

फिचर |


नेकाँ पदाधिकारी बैठकमा महाधिवेशन फागुनमै गर्न सुझाव


गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक २२ गते । नेपाली काँग्रेसको आगामी फागुनमा गर्ने तय भएको १४ औं महाधिवेशन सोही मितिमा हुनुपर्ने सुझाव जारी पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताले दिनुभएको छ । फागुन ७ देखि हुने महाधिवेशनलाई पर नसारी क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई पहिला टुङ्ग्याउन जोड दिइएको छ ।
क्रियाशील सदस्यता वितरण प्रक्रिया टुङ्गिएको दुई महिनामा वडा, नगर, पालिका, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, जिल्ला एवम् प्रदेश अधिवेशन गर्न सकिने सुझाव पनि बैठकमा राखिएको छ । कतिपय नेताले फागुनमा केही हिमाली तथा पहाडी जिल्लामा हिउँ पर्ने भएकाले वैशाख वा जेठमा महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., गोपालमान श्रेष्ठलगायतले धारणा राख्नुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । आइतबार उपसभापति विजय गच्छदार, युवा नेता गगनकुमार थापालगायतका नेताले आफ्नो धारणा राख्ने सम्भावना रहेकाले उहाँहरूको विचार आएपछि बैठकले आगामी दिनमा कसरी जाने भन्ने विषयमा टुङ्गो लगाउनेछ ।
मुख्य सचिव पौडेलका अनुसार, बैठक सकारात्मक दिशामा अगाडि बढेकाले आइतबारको बैठक निर्णायक हुने र त्यसले निकाल्ने निष्कर्षलाई २४ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिने तयारी रहेको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र केही प्रभावशाली केन्द्रीय सदस्यको उपस्थिति छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय सदस्यले सभापति देउवालाई बुझाएको ध्यानाकर्षणपत्रका विषयमा सहमति कायम गरेर जान पदाधिकारी बैठक केन्द्रित छ । बैठक आइतबार १ बजे पुनः बस्दैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?