logo
२०८१ असोज १२ शनिवार



आत्मनिर्भर बन्दै महिलाः सिलाई कटाई व्यवसायमा जमेका गंगा र आशा

फिचर |
पढ्नै पर्ने |


आत्मनिर्भर बन्दै महिलाः सिलाई कटाई व्यवसायमा जमेका गंगा र आशा


चाँदनी आचार्य
लम्की (कैलाली) कात्तिक २५ गते । एउटा मात्र कोठा, कोठाको भित्तामा लगाउने थरीथरी डिजाइनका कपडा झुण्ड्याइएको छ, कोठाको एक छेउमा लहरै ७ वटा सिलाई मेसिनमा महिलाहरु कोहि कपडा काट्दै छन् त कोही सिलाउदै छन् । कोठाको अर्को छेउमा गंगा भट्ट नयाँ आउने ग्राहको कपडा नापजाँच गर्दै हुनुहुन्छ । यो दृष्य हो कैलालीको घोडाघोडी नगरपालिका १ सुखड बजारमा रहेको गंगा सिलाईकटाई सेन्टरको । सुखडमै घर भएका गंगालाई हिजो आज चाडपर्व नजिकिएसँगै नयाँनयाँ कपडा सिलाउन भ्याईनभ्याई छ । विगत एक दशक बढी सिलाई पेशा सञ्चालन गरेकी गंगा आफूमात्र रोजगारी बन्नुभएको छैन अन्य चार जनालाई समेत रोजगार दिनुभएको छ ।

कपडा नाप्दै गरीकी गंगाले मुस्काउँदै भन्नुभयो ‘विगतमा आम्दानी नहुँदा अरुको मुख ताक्दा कति पीडा हुन्थ्यो आज भोलि आफैले कमाएर अरुलाई पनि रोजगार दिन पाउँदा खुशी लाग्छ ।’ एकवटा सिलाई मेसिनबाट व्यवसाय शुरु गरेकी गंगाले आफैले सिलाईबाट आम्दानी गरेर सातवटा मेसिन जोड्नुभएको छ भने श्रीमानलाई बैदेशिक रोजगारमा पठाउनु भएको छ ।

‘बोडि· स्कुलमा चार,पाँच हजार महिनाको तलबमा पढाउने काम गर्नुहुन्थ्यो, मैले सिलाईबाट आम्दानी गरेको पैसाले श्रीमानलाई बिदेश पठाउन सजिलो भयो ’गंगाले भन्नुभयो । गंगाको श्रीमान मलेसिया गएको पनि तीन बर्ष भइसकेको छ । उहाँले पनि राम्रै कमाई गर्नुहुन्छ उहाँले भन्नुभयो ।

गंगा र उहाँको श्रीमानको कमाईले अहिले सुखड बजारमा राम्रै ठाउँमा घर बनाउँदै हुनुहुन्छ । सन्तुष्टिको लामो श्वास लिदै गंगाले भन्नुभयो ‘काम गर्ने ईच्छा र आँट भयो भने कम पढेका महिलाले पनि आम्दानी गर्न सकिने रहेछ ,ग्राहको सन्तुष्टिले झनै काम गर्ने जोश बढ्दोरहेछ ।’

ग्राहकले जस्तो भन्यो त्यस्तै डिजाइनका कपडा सिलाउने भएकाले पनि गंगाको पसलमा कपडा सिलाउनेको भिडभाड नै हुन्छ । सामाजिक सञ्जालमा आएको डिजाईन ग्राहले देखाउँदै उहाँलाई सिलाउन भन्छन् उहाँले पनि जस्ताको तस्तै बनाएर सिलाइदिनु हुन्छ ।

कपडा सिलाउन आएकी ग्राहक सपना ढकालले भन्नुभयो ‘लेडिजले सिलाउने अरु पसलपनि छन तर मलाई गंगा दिदिले सिलाएको कपडामात्र मनपर्छ ।’महिलाका कपडामात्र सिलाउने गंगाको पसलमा कुर्ता सुरुवाल सिलाएको २५० देखि एक हजार सम्म लिने गरिन्छ । गंगाले कपडाको डिजाईन र मेहनत अनुसार पैसा लिने गरेको बताउनुभयो । उहाँले अझै कमाएर बुटिक सञ्चालन गरेर धेरैलाई रोजगार दिने ईच्छा भएको बताउनुभयो ।

गंगा जस्तै सुखड बजारमै सिलाई कटाई पेशामा अलगै छाप बनाउनुभएको छ आशा चौधरी । डेढ दशक लामो सिलाई पेशामा समय बिताइसक्नुभएको आशा आजभोलि साँझबिहान सिलाई पसलमा व्यस्त हुनुहुन्छ भने दिउँसोको समय सिलाई कटाईकोे तालिम दिन जानुहुन्छ । आफ्नै नामबाट सिलाई सेन्टर खोल्नुभएकी आशाले अन्य तीन जना महिला लाई समेत रोजगार दिनुभएकोछ ।
तालिमको सिलसिलामा धेरै जिल्ला पुगिसक्नुभएका आशाले धेरै महिला उधमी उत्पादन गरेको बताउनुभयो । ‘आफूले तालिम दिएका धेरैले सिलाईकटाई व्यवसाय सञ्चालन गरेको देख्दा खुशी लाग्छ ’आशाले भन्नुभयो । आशाले सिलाई कटाई व्यवसायबाट नै छोरालाई काठमाण्डौंमा प्राविधिक विषय पढाउनु भएको छ ।

मासिक पच्चीसदेखि चालीस हजारसम्म आम्दानी हुने बताउदैँ आशाले यो व्यवसायबाट यति नै बचत भयो भन्ने नभएपनि घर घडेरी जोड्न, घरखर्च, छोराको पढाइ लगायतका खर्चमा सहजता भएको बताउनुभयो ।

घोडाघोडी कपडा सिलाई व्यवसायी संघको कोषाध्यक्ष समेत रहेकी आशाले घोडाघोडी नगरपालिकामा कपडा सिलाउने करिब चार दर्जन सिलाई सेन्टर मध्ये ८० प्रतिशत महिलाले सञ्चालन गरेको सिलाई जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?