logo
२०८१ असोज १२ शनिवार



इजरायलमा कामदार पठाउन कार्यविधि तयार

फिचर |
पढ्नै पर्ने |


इजरायलमा कामदार पठाउन कार्यविधि तयार


सीता शर्मा

काठमाडौँ, कात्तिक २६ गते । नेपाल र इजरायल सरकारबीच भएका श्रम सम्झौताअनुसार नेपालबाट दक्ष श्रमिक इजरायल पठाउनका लागि कार्यविधि तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरेको जनाएको छ ।
श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाइएको छ ।
नेपाली श्रमिकले इजरायलको केयरगिभर क्षेत्र, कृषिक्षेत्र, होटल, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा रोजगारीको अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ । यसअन्तर्गत पहिलो चरणमा केयरगिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ ।
कार्यविधि बनाउने कार्यदलमा सदस्य रहनुभएका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दुई देशबीच भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार भइसकेकाले प्रोटोकलमा हस्ताक्षरको तयारी भएको जानकारी दिनुभयो । उहाँले प्रोटोकलमा आगामी मङ्सिरको अन्तिम साता वा पुसको पहिलो साताभित्र नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत र इजरायलका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका एक जना प्रतिनिधिबीच हस्ताक्षर हुनेगरी तयारी भएको जानकारी दिनुभयो ।
विभागका महानिर्देशक दाहालले कार्यान्वयन प्रोटोकलमा दुई देशबीच हस्ताक्षर सम्पन्न भएको दुई÷तीन महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रक्रियाबाट इजरायल गएकाले आआफ्नो क्षेत्रमा के कस्तो इमानदारी देखाउन सक्छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्नेछ । ”
त्यसो त यसअघि पनि नेपाली केयरगिभरका रूपमा इजरायल गएका छन् । कतिपय नेपाली अहिलेसम्म त्यहाँ कार्यरत छन् । त्यस्तै साना किसान बैङ्कको संयोजनमा कृषि क्षेत्रमा काम गर्नका लागि हरेक वर्ष १० महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत तीन हजार १६२ जना नेपाली इजरायल गइसकेका छन् ।
इजरायलमा ६० हजार विदेशी केयरगिभर छन् । यसअघि सन् २०१७ मा एक संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार इजरायलमा झन्डै १५ प्रतिशत केयरगिभर नेपालका छन् । इजरायली श्रम कानुनले हप्तामा एक दिन श्रमिकलाई बिदाको ग्यारेन्टी दिन्छ तर धेरै नेपाली हेरचाहकर्ताले थप पैसा कमाउनका लागि सातै दिन काम गर्ने छनोट गर्ने गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?