logo
२०८१ असोज ११ शुक्रवार



काभ्रेमा ‘टेली रिह्याबिलिटेशन’ मार्फत बिरामीको उपचार

फिचर |
पढ्नै पर्ने |


काभ्रेमा ‘टेली रिह्याबिलिटेशन’ मार्फत बिरामीको उपचार


केदार तिमल्सिना
बनेपा, मङ्सिर १० गते । काभ्रेको बनेपा नगरपालिका–१० मा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रले नेपालमा नै पहिलो पटक ‘टेली रिह्याबिलिटेशन’ सुरु गरेको छ । कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दी कारण देशका विभिन्न जिल्लामा रहेका मेरुदण्डका बिरामीहरू अस्पताल आउन सक्ने अवस्था नभएपछि ‘टेली रिह्याबिलिटेशन’ सुरु गरिएको अस्पतालले जनाएको छ ।
‘बन्दाबन्दीका कारण देशका विशेष गरी विकट जिल्लामा रहनुभएका मेरुदण्ड चोटका बिरामी उपचारका लागि अस्पतालसम्म आउने अवस्था नभएपछि हामीले टेली रिह्याबिलिटेशन सुरु गरेका हौँ’ केन्द्रका मेडिकल निर्देशक डा. राजु ढकालले जानकारी दिनुभयो । उहाँले केन्द्रमा लामो समय बसी उपचारपछि घर फर्कनुभएका बिरामीहरूलाई सामान्य समस्या हुँदा र फलोअपका लागि अस्पतालमा आउँदा धेरै खर्च लाग्ने हुनाले उहाँहरूको खर्च बचत गर्ने उद्देश्यले पनि टेली रिह्याबिलिटेशन फलदायी रहेको बताउनुभयो ।
‘केन्द्रमा उपचारपछि घर फर्कनुभएको सुर्खेतको एक जना बिरामी सामान्य उपचारका लागि अरु दुई जना साथीसहित अस्पताल आउँदा गाडी भाडा, होटलमा बसेको खर्च गर्दा उहाँसँग भएको ३५ हजारभन्दा बढी खर्च भएछ र अस्पतालमा लाग्ने ७५० रुपियाँ तिर्ने अवस्था थिएन’ केन्द्रका मेडिकल निर्देशक ढकालले थप्नुभयो, ‘बिरामी उपचारका लागि आउन लाग्ने खर्च जोगाउन पनि यस्तो प्रविधि अबलम्बन गरेका हौँ’ । उहाँले मेरुदण्डमा चोट भएका बिरामीले आफ्नो आफन्त तथा परिवारसँग घरमा नै बसेर केन्द्रमा रहेका विशेषज्ञ चिकित्सक र फिजियोथेरापिष्टले दिएका सल्लाह र परामर्श अनुसार आफ्ना समस्या समाधान गर्न सक्ने बताउनुभयो ।
‘अनलाइनको माध्यमबाट बिरामीहरूलाई घरमा उपचार गर्न सकिन्छ कि, उहाँहरूको नजिकै रहेको अस्पतालमा समन्वय गराएर उपचार गराउन सकिने अवस्था भए/नभएको र उपचारका लागि केन्द्रमा नै आउनुपर्ने भन्ने विषयमा बिरामी र उहाँको आफन्तसँग परामर्श र छलफल गरिन्छ’ ढकालले बताउनुभयो, ‘नेपालमा टेली मेडिशिनको सुरुवात भए पनि टेली रिह्याबिलिटेशन भने नेपालमा नै पहिलो अभ्यास हो’ । केन्द्रमा उपचार गरेर घर फर्कनुभएका बिरामीहरूको समस्याका बारेमा आइतबारदेखि बिहीबारसम्म उहाँहरूका हरेक समस्याको टिपोट गर्ने र मुख्य समस्यालाई क्रमबद्ध गरिनेछ ।
टिपोट गरिएका समस्याहरूको बारेमा हप्ताको प्रत्येक शुक्रबार १०ः३० देखि १२ः३० सम्म विशेषज्ञ चिकित्सक, नर्स, फिजियोथेरापिष्टको टिम बसेर बिरामीलाई परामर्शका साथै उपचारका विधिको बारेमा निःशुल्क जानकारी दिइनेछ । केन्द्रका मेडिकल निर्देशक डा. राजु ढकालले बन्दाबन्दीको समयमा टेलि रिह्याबिलिटेशन बिरामीको उपचारका लागि धेरै नै फलदायी भएको बताउनुभयो । उहाँले बन्दाबन्दीको समयमा एक सय ७५ बिरामीलाई टेली रिह्याबिलिटेशनमार्फत उहाँहरूको समस्या समाधान गरिएको बताउनुभयो । अनलाइनमार्फत बिरामीलाई फिजियोथेरापी गर्ने तथा अन्य विभिन्न अभ्यास गराउन सिकाइने केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?