logo
२०८१ असोज ११ शुक्रवार



हुस्सु र चिसोले जनजीवन प्रभावित, सिरक डसनाको माग बढ्यो

फिचर |
पढ्नै पर्ने |


हुस्सु र चिसोले जनजीवन प्रभावित, सिरक डसनाको माग बढ्यो


धीरेन्द्रप्रसाद साह
राजविराज, मंसिर २८ गते । पछिल्लो केही दिनयता बाक्लो हुस्सुसँगै बढेको चिसोले सप्तरीसहित तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । चिसो बढ्नासाथ न्यानो कपडाको जोहोमा लागेका सर्वसाधारण चिसोको मात्रा अनुसार न्यानो कपडाको तयारी गरिन्छ ।
सप्तरीसहित तराईका जिल्लामा मंसिर महिनादेखि माघसम्म अत्यधिक चिसो हुने गर्दछ । यसबेला जिउँमा लगाउने, ओढ्ने ओछ्याउने लगायतका लागि न्यानो कपडा आवश्यक हुने गरेको छ । यसबाहेक गरिब विपन्न, असहायलाई दान गर्न पनि न्यानो कपडाको माग बढ्ने गरेको व्यापारीहरु बताउँछन् ।
खासगरी तराईका सप्तरी, सिरहा, धनुषा, सुनसरी लगायतका जिल्लाहरुमा ती महिनामा सबभन्दा बढी चिसो हावा चल्ने, शीतलहर हुने, बाक्लो हुस्सु लाग्ने हुँदा अत्यधिक जाडो हुने गरेको स्थानीयवासीहरु बताउँछन । चिसोले कठ्याग्रिने र मृत्यु हुने प्रबल संभावना रहने भएकोले यस बेला न्यानो तथा बाक्लो लुगाफाटा, ज्याकेट, न्यानो टोपी, पञ्जा, सिरक, डसनालगायतको कपडाको व्यवस्थापन गरेर चिसोबाट जोगिने गरिन्छ ।
यसरी नै गरिब, विपन्न, असहायलाई दान गर्न तथा घरमा प्रयोग गर्न सिरक डसनाको माग बढेपछि सिरक र डसना बनाउन सीपयुक्त व्यक्तिहरुलाई(धुनियाँ) भ्याइ नभ्याइ हुने गरेको छ । सप्तरीको राजविराज नगरभित्रै एक दर्जन बढी स्थानमा सिरक डसना बनाउने समूहहरु सक्रिय रहेको भेटिन्छ । नगरको नगरपालिका कार्यालय छेउ, शिव मन्दिर, गजेन्द्र चौक, अदाल रोड, मुख्य सडक लगायतका स्थानमा सिरक बनाउने धुनिया समूहरुलाई भ्याइ नभ्याइ  छ ।

चिसोले धुनियाँको जीवनमा ल्यायो न्यानो
चिसो छल्न न्यानो कपडा बनाउने धुनियाँहरुको जीवन पनि यसैमा न्यानो हुने गरेको छ । न्यानो कपडाको आम्दानीबाट उनीहरुको घरपरिवार चल्ने गरेको छ । धुनियाँ रफिद मियाँलाई यतिखेर सिरक र डसना बनाउन भ्याई नभ्याई छ । चिसो बढेसँगै सिरक डसनाको माग बढेपछि मियाँ दिनभर सोही काममा खटिने गरेका छन् । साहु महाजनको अर्डर तथा ग्राहकको माग अनुसार सिरक र डसना बनाउनमा खप्पिस मियाँ जस्ता यहाँका धुनियाहरुको दैनिकी फेरिएको छ । पसलमा समेत सिरक डसना बनाउनेको माग बढेको छ । त्यसमाथि विवाह व्रतबन्धका लागि पनि सिरक बनाउन आउने गरेको मियाँले जानकारी दिनुभयो ।
स्थानीय रफिद महम्द जस्तै गफुर महम्दको दैनिकी उस्तै छ । जिल्लामा सिरक डसनाको माग बढिरहेकाले कार्यभारका कारण खाना समेत खान नभ्याउने गरेको उहाँले बताउनुभयो । कामको ओइरो छ, कसरी खाने उहाँले प्रश्न गर्दै भन्नुभयो–ग्राहकको सन्तुष्टि नै हाम्रो धर्म हो, त्यसैले उनीहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै बिहानै खानपान गरी काममा खटिने गरेको छु ।
चिसो बढेकाले यहाँका धुनियाहरुको कार्यको चापपनि बढेको छ । कोही सिरक डसना त कोही तकिया बनाउन आउने गरेको उहाँले बताउँदै सप्तरीमा करिब तीन सय ५० धुनिया मध्ये राजविराज नगरमा मात्रै दुई सय धुनियाले दैनिक काम गरिरहेका छन् । यस्तै जिल्लाको अन्य बजार वा ग्रामीण भेगमा समेत धुनियाले सेवा दिइरहेको मुस्ताक मियाँले बताउनुभयो ।
आकार र कपास अनुसार धुनिने तथा सिलाइ गरिने सिरक डसना तयारीको एकमुष्ट मूल्य फरक भएपनि साधारणतया प्रति सिरक डसना बनाउन रु. एक हजार देखि दुई हजारसम्म लिने गरेको मियाँले बताउँदै एक दिनमा ३०/४० वटासम्म सिरक बनाउने गरेको जानकारी दिनुभयो ।
जिल्लाभरीका गरी दैनिक करिब पाँचसय/हजार सिरक डसना तयार हुने गरेको मुस्ताकले जानकारी दिदै राजविराज नगरभन्दा बाहिर समेत सिरक डसना बनाउनेको भीड व्यापक हुने गरेको बताउनुभयो । धुनियाँ समितिका अध्यक्ष समेत रहेको मुस्ताकले सप्तरीमा ९९ प्रतिशत धुनिया मुस्लिम समुदायकै रहेको र उनीहरुको छाकपनि यसैमा आश्रित रहेको बताउनुभयो । जाडोयाम र विवाहको महिना मुख्य सिजन रहेकोले यस सिजनमै वर्षभरीको लाखौ रुपियाँ कमाइ हुने गरेको बताउँदै यसको कमाइबाट बालबच्चाको पढाइ लेखाइसँगै घरखर्च चलाउने गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?