logo
२०८१ असोज ११ शुक्रवार



सहयोगी महाविद्यालयः बुहारीलाई निःशुल्क शिक्षा

फिचर |
पढ्नै पर्ने |


सहयोगी महाविद्यालयः बुहारीलाई निःशुल्क शिक्षा
फाइल तस्बिर


काठमाडौँ, पुस २ गते । नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो । गत आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको रु २० लाख र सांसद पूर्वाधार कोषबाट प्राप्त रु ५० लाख गरी रु ७० लाखको बोलपत्र गरी भवन शिलान्यास गरिएको महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

दुईतले आठकोठे भवन निर्माण गर्न रु १५ करोड सात लाख लागत अनुमान गरिएको छ । चालू आवमा पनि नगरपालिकाले रु ४० लाख बजेट विनियोजन गरेको छ । विसं २०६० मा स्थापित महाविद्यालयमा हाल १०८ विद्यार्थी अध्ययनरत छन् ।

त्रिभुवन विश्विद्यालयबाट सम्बन्धनप्राप्त महाविद्यालयमा अध्ययन गरिरहेका १९ बुहारीलाई निःशुल्क शिक्षा दिइएको छ । निःशुल्क शिक्षा दिन नगरपालिकाले सहयोग गर्दै आएको छ । महाविद्यालयमा ४१ छात्रा अध्ययन गरिरहेका छन् ।

कुल विद्यार्थीमध्ये महिलाको सङ्ख्या बढी रहेको महाविद्यालय प्रशासनले जनाएको छ । महाविद्यालयको भवन नभएकै कारण हाल व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएसको मात्र कक्षा सञ्चालन गरिएको छ । भवन बनेपछि अन्य सङ्कायको समेत अध्यापन गराइने जनाइएको छ ।

भवन शिलान्यास गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाइ, बुझाइ र सिकाइ सीप सिक्न तथा कार्यान्वयन गर्न हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद कृष्णबहादुर राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आवश्यकतानुसार उच्च शिक्षामा पनि लगानी गरिरहेकाले आगामी दिनमा समेत बढाइने प्रतिबद्धता जनाउनुभयो ।

नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाका तर्फबाट बुहारी एवं छोरी शिक्षालाई प्रोत्साहन गर्न गतवर्ष शैक्षिक सामग्री वितरण गरिएकोे जानकारी दिनुभयो ।महाविद्यालयले ‘गोकर्णेश्वर नगरपालिकाको प्रत्येक घर, अनिवार्य स्नातक’ नाराका साथ बुहारी एवं छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?