logo
२०८१ असोज ११ शुक्रवार



बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला (फोटो फिचर सहित)

फिचर |
पढ्नै पर्ने |


बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला (फोटो फिचर सहित)
तस्बिर : सुजन गुरूङ


काठमाडौँ, पुस ५ गते । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो ।

वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर खुला गरिएको घोषणा गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य निरौलाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर क्षेत्रको विश्वका वैदिक सनातन धर्मावलम्बीबीच प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्न सकिने बताउनुभयो ।

नगरप्रमुख खरेलले विसं २०४० मै अधिग्रहण भएको मन्दिर क्षेत्रको जग्गालाई मठ मातहत ल्याई धार्मिक पर्यटन प्रवर्धन गर्ने हिसाबले संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अधिग्रहण भइसकेको जग्गा छाडिदिन पनि उहाँले सरोकार भएकालाई आग्रह गर्नुभयो । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले बताउनुभयो ।
मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगन गरिएको थियो । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएकाले विश्वमै मन्दिरको महत्वपूर्ण स्थान रहेको महन्त निगमानन्दको भनाइ थियो ।
ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । मन्दिर खुला गरिएपछि भक्तजन दर्शनका लागि आउन थालेका छन् । यसले गर्दा सुनसान रहेको मन्दिर क्षेत्रमा चहलपहल बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?