logo
२०८१ असोज ११ शुक्रवार



उपत्यका अवलोकन गर्ने धरहराकोे मुख्य बारदली बन्दै

फिचर |
समाज |


उपत्यका अवलोकन गर्ने धरहराकोे मुख्य बारदली बन्दै


मुकुन्द गैरे

काठमाडौं, पुस ९ गते । सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम तीव्र गतीमा अगाडि बढेको छ । बन्न लागेको २२ तलाको धरहरामध्ये २० तलाको लागि ढलान हुन लागेको हो । साथै उक्त तलाबाट काठमाडौं उपत्यका अवलोकन गर्ने बारदली बनाउने काम भइरहेको निर्माण कम्पनीले गोरखापत्र अनलाइनलाई जानकारी दिएको छ ।

रमण कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले मुख्य आकर्षक रहेको २० तलाबाट अवलोकन गर्ने ठाउँको बारदली बनाउने काम भइरहेको बताउनुभयो । बाँकी दुई तल्लाको काम दुईदेखि तीन महिनाको बीचमा सम्पन्न हुने बताउनुभयो । तर धरहरालाई अन्तिम रुप दिने कामको लागि केही समय लाग्नेछ । धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङ काम पनि भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

सुरुमा कोरोनाका कारण काममा केही असर परेको भए तापनि काम निरन्तर भइरहेको उहाँ बताउनुहुन्छ । कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भइरहेको उहाँले बताउनुभयो ।ठेक्का पाएको समयका आधारमा हामीले एक महिना अगावै सक्नु सक्नुपर्ने भए तापनि कोरोनालगायत काम गर्ने सिलसिलामा काम गर्ने साइट नपाएको कारण थप समय आवश्यक रहेको म्यानेजर इन्जिनियर श्रेष्ठ बताउनुहुन्छ ।

२२ तला बन्ने धरहरा पहिलाको धरहराको शैलीमा बन्नेछ । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ । यो बन्दै गरेको धरहरामा बालुवा, छड, ईटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिने म्यानेजर श्रेष्ठ बताउनुहुन्छ । पुरानै शैलीमा प्रत्येक तलामा झ्याल रहनेछ ।

नयाँ धरहरामा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गमैत्री बन्ने भएको छ । धरोहरा चढ्नको लागि हिँड्न नसक्नेको लागि दुई वटा लिप्टको व्यवस्था गरिएको छ । गाडी र बाइकको लागि पार्किङको सुविधा रहनेछ । चारसय साना गाडी र सातसय बाईक अट्ने क्षमताको पार्किङ बनिरहेको छ ।
साथै, खाजा र खाना खाने क्यान्टिनदेखि आराम गर्नको लागि बगैंचा रहनेछ ।

धरहरा चढ्न दैनिक तीनदेखि चार हजारको हाराहारीमा पर्यटकहरु आउने एक अनुसन्धानले बताएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।  धरहराभित्रै रहेको सुन्धारालाई पहिलाको जस्तो पानी बग्ने बनाइनेछ । नेपालको पहिचान चिनाउने उक्त पुरानो ऐतिहासिक धरहरालाइ सफाइ गरेर पुरानै मौलिकतामा प्रयोगमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?