logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना सङ्क्रमण दर घट्दो

फिचर |
स्वास्थ्य |


कोरोना सङ्क्रमण दर घट्दो


सरोज ढुङ्गेल

काठमाडौँ, पुस २१ गते । नेपालमा कोरोना (कोभिड–१९) सङ्क्रमण दर घट्दै गएको छ । विगतमा कुल परीक्षणको २५ प्रतिशतसम्मलाई कोरोना सङ्क्रमण पुष्टि हुने गरेकोमा पछिल्ला दिनमा उक्त दर घटेर छदेखि नौँ प्रतिशतसम्ममा झरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कोरोना सङ्क्रमण दर घट्दै गएको स्पष्ट पार्नुभयो । केही महिनाअघि दैनिक तीन हजारभन्दा माथि सङ्क्रमित देखिएकोमा केही दिनयता उक्त सङ्ख्या चार सयको हाराहारीमा झरेको देखिएबाट कोरोना सङ्क्रमण दर घट्न थालेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रवक्ता गौतमका अनुसार मानिसको जीवनशैलीमा परिवर्तन, कोरोनासम्बन्धी जनचेतना, हात धुने, मास्क लगाउने व्यवहारका कारण कोरोना सङ्क्रमण दर घटेको हो । “अहिले धेरै मानिस कोरोनाबारे चिन्तित छन् र त्यहीअनुसार बानी व्यवहारमा परिवर्तन भएको छ,” डा. गौतमले भन्नुभयो । जनचेतनाको विकास भए पनि पछिल्लो समय बढ्दै गएको भीडभाड, सभा, सम्मेलन जस्ता क्रियाकलापले भने कोरोना सङ्क्रमण बढ्नसक्ने जोखिम उत्तिकै रहेको उहाँले बताउनुभयो ।
नेपालमा कात्तिक ८ गते सक्रिय सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी ४६ हजार थियो । अहिले यो सङ्ख्या पाँच हजारमा सीमित भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या उच्च हुँदा अस्पतालमा शøयाको अभाव भएकाले होम आइसोलेसनमा धेरै बिरामी बस्नुपरेको थियो ।
नेपालमा हाल एक हजार सात सय सङ्क्रमित मात्र होम आइसोलेसनमा छन् । झण्डै पाँच सयको हाराहारीमा आईसीयूमा छन् भने भेन्टिलेटरमा उपचार भइरहेका सङ्क्रमित २५० को हाराहारीमा मात्र छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल कोरोना अस्पतालका लागि छुट्ट्याइएका अस्पतालका बेड तथा आइसोलेसन केन्द्र ८० प्रतिशत खाली छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले अस्पतालमा २० प्रतिशत बेडमा मात्रै सङ्क्रमित रहेको जानकारी दिनुभयो ।

थप ४०३ सङ्क्रमित
सोमबार नेपालमा थप ४०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार २६२ पुगेको छ भने कोरोना निको हुने सङ्ख्या दुई लाख ५५ हजार ८८ पुगेको छ । देशभरबाट ५९४ जना सङ्क्रमित निको भएका छन् ।
हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २८९ रहेको छ । क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख २२ हजार ४१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?