logo
२०८१ असोज १० बिहीवार



सुदूरपश्चिममा जलपक्षीको गणना हुँदै

फिचर |
पढ्नै पर्ने |


सुदूरपश्चिममा जलपक्षीको गणना हुँदै


अविनाश चौधरी
धनगढी, पुस २१ गते । विभिन्न दुर्लभ पक्षीहरु पाइने सुदूरपश्चिम प्रदेशमा जलपक्षीको गणना गरिदैँछ । हिउँदमा बसाइँ सरेर यता आउने पाहुना जलपक्षी र रैथाने जलपक्षीको स्थिति थाहा पाउने उद्देश्यले जलपक्षीको गणना कार्य थालिएको हो । सुरुवातमा कैलालीको घोडाघोडी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना कार्य भइरहेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुस १८ र विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पुस १९ गतेदेखि जलपक्षीको गणना कार्य भइरहेको हो । दुवै जिल्लामा छुट्टाछुट्टै टोली बनाएर जलपक्षीको गणना कार्य भइरहेको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो ।
३४३ प्रजातिको चरा पाइने घोडाघोडी ताल क्षेत्रमा मङ्गलबार गणनाको कार्य लगभग सकिएको जनाइएको छ । यो ताल क्षेत्रमा हिउँदमा हालसम्म ६४ प्रजातिका जलपक्षी अभिलेख गरिएको छ । पछिल्लो गणनामा रैथाने जलपक्षीको सङ्ख्या ठीकठीकै अभिलेख भए पनि बसाइँ सरेर आउने पाहुना जलपक्षीको सङ्ख्या थोरै फेला परेको जनाइएको छ ।
‘नकरोड ताल क्षेत्रमा जलपक्षीको सङ्ख्या राम्रै देखियो । तर, मुख्य घोडाघोडी तालमा भने बसाइँ सरेर आएका जलपक्षी थोरै मात्रामा देखिए’, चराविद् डङ्गौराले भन्नुभयो । ‘घोडाघोडीमा पाहुना जलपक्षीको अवस्था सन्तोषजनक देखिएन ।’
कैलालीको ठूलो सिमसार मानिने घोडाघोडी ताल क्षेत्रमा चीन, साइबेरिया, मङ्गोलियाबाट पाहुना जलपक्षीहरु जाडो छल्नका लागि हिउँदमा आउने गर्दछन् । यो ताल क्षेत्रमा तीन वटा टोली बनाएर जलपक्षीको गणना गर्ने कार्य भएको छ । बसन्ता वन क्षेत्रमा रहेको सिमसारमा पनि जलपक्षीको गणना कार्य हुने जनाइएको छ ।
यसैगरी, संरक्षित क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छुट्टै टोलीले जलपक्षीको गणना गरिरहेको छ । सो निकुञ्जमा हालसम्म ४५० चरा प्रजाति अभिलेख गरिएको छ । पक्षी संरक्षण सङ्घ (बीसीएन) को अगुवाइमा निकुञ्जभित्र जलपक्षीको गणना भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिनुभयो । ‘गणना कार्य जारी छ’, उहाँले भन्नुभयो ।
शुक्लाफाँटाभित्र शिकारी ताल, कालीकिच, रानी, ताराताल, सोलगौरी लगायतका प्राकृतिक तालहरुमा हिउँदमा आउने पाहुना चरासहित रैथाने जलपक्षी पाइने गरेका छन् । यसैगरी, निकुञ्जले बनाएका कृत्रिम पोखरीहरुमा पनि जलपक्षी पाइने गरेका छन् । निकुञ्जभित्र रहेको चौधर नदीमा समेत जलपक्षीको गणना हुने सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिनुभयो ।
शुक्लाफाँटामा हालसम्म साना र निकुज्ञ किनारका तालहरुमा गणना कार्य भइसकेको जनाइएको छ । निकुञ्जभित्र रहेका ठूला सिमसार क्षेत्रमा गणनाको कार्य अझै बाँकी रहेको बीसीएनका फिल्ड अधिकृतसमेत रहनुभएका चराविद् डङ्गौराले बताउनुभयो । जाडो याममा जलपक्षीको गणना कार्य माघ ५ गतेसम्म हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?