logo
२०८१ असोज १० बिहीवार



हुलाकी सडक निर्माणसँगै स्वरुप फेरिँदै ग्रामीण बजार  

फिचर |
प्रदेश |


हुलाकी सडक निर्माणसँगै स्वरुप फेरिँदै ग्रामीण बजार  
सांकेतिक तस्बीर


राजु विश्वकर्मा

लाहान, पुस २१ गते । कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र सानासाना पसल मात्रै देखिने सिरहाको बरियारपट्टी बजारको स्वरुप यति बेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालिएको छ ।       
 ‘‘पहिलापहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना साना व्यवसायी मात्र थियो”, बरियारपट्टीका विनोद यादवले भन्नुभयो, ‘‘तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र ठूलो पूँजीका पसल खुल्न थालेको छ ।”  विगतमा दुर्गम क्षेत्रको रुपमा परिचित सिरहाकै औरही बजार अहिले सुगम क्षेत्रको रुपमा आफ्नो पहिचान फेर्न लागेको छ । यसरी छोटो समयमै सिरहाका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै ‘लाइफलाइन’को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो ।

 नेपालकै पुरानो राजमार्गमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरी खण्डमा निर्माणकार्य तीव्र रुपमा अघि बढेसँगै सिरहा र सप्तरीका ग्रामीण क्षेत्र सुगम क्षेत्र बन्दै गएको छ ।    
    
 हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ । ‘‘हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारण सास्ती बेहोर्दै आएका थियौँ”, सिरहाको भगवानपुर गाउँपालिकाका श्याम यादवले भन्नुभयो, ‘‘हुलाकी सडक निर्माण भएपछि सदरमुकाम सिरहासम्म पुग्न सहज भएको छ ।”    
    
 हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुग्ने बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताले बताउनुभयो । ‘‘हुलाकी सडक निर्माणले यहाँका जनतालाई सदरमुकाम सिरहा बजार र प्रदेश नं २ को राजधानी जनकपुरसम्म जान नजीक भएको र यसबाट विकासको अन्य ढोका खुल्दै गएको छ ।” किसानले उब्जाएको उत्पादन सहजै रुपमा सिरहा बजार र लहान बजारसम्म पठाउन सकिने भएको गाउँपालिका अध्यक्ष मेहताको भनाइ छ ।    
    
 हुलाकी सडकको निर्माणले समग्र सिरहाकै मुहार परिवर्तन हुने कुरामा स्थानीयवासी मात्रै होइन, अन्य जनप्रतिनिधि पनि आशावादी देखिएका छन् । ‘‘हुलाकी राजमार्ग बनेपछि जग्गा जमीनको मूल्याङ्कन बढ्दै गएको छ”, सिरहाको औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भन्नुभयो, ‘‘पहिला मुस्किलले रु २० लाख प्रतिकठ्ठा बिक्री हुने जग्गा अहिले रु ६० देखि ७० लाख कठ्ठामा बिक्री हुन थालेको छ, यो हुलाकी सडक निर्माण भएकै कारण भएको हो ।” सडक पूर्ण रुपमा निर्माण भएर यातायातको सुविधा पुगेपछि अझ बढ्न सक्ने उहाँको कथन छ ।    
    
 हुलाकी सडकको निर्माणसँगै सिरहासँगै सप्तरीको ग्रामीण भेगको बजारमा व्यापार विस्तारै फस्टाउँदै गएको व्यापारी बताउनुहुन्छ । ‘‘सडक निर्माणका कारण गाउँ र बजारको दूरी घटेको छ, गाउँका स्थानीय बजारमा आएर सहज रुपमा किनबेच गरिरहेकाले व्यापार बढेकाे छ”, सप्तरीको बोदे बसाइनका व्यापारी दीपेन्द्र मण्डलले भन्नुभयो, ‘‘पहिला सडक जीर्ण हुँदा गाउँबाट बजार आउन स्थानीयलाई समस्या हुन्थ्यो, अहिले बजारसम्म आउन सहज भएको छ, त्यसैले बिक्री बढेको छ ।” सडक निर्माणले गाउँ र बजारलाई जोड्ने काम गरेको मण्डलको भनाइ छ ।    
    
 पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब ५४ किलोमिटरको सो सडकमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ । पूर्वतर्फ राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब १७ किलोमिटर सडक कालोपत्रे गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो ।    
    
 बाँकी सडकमा समेत कालोपत्रे गर्ने स्तरसम्मको काम भइसकेको र धमाधम कार्य भइरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताउनुभयो । करीब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ ।    
    
 विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुल निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको म्यानेजर यादवको कथन छ ।    
    
 यस्तै पूर्व बलानदेखि पश्चिम सदरमुकाम सिरहासम्मको २९ किलोमिटर सडकमा निर्माणको तीव्र रुपमा भइरहेको छ । सो सडक निर्माणको ठेक्का लिएको स्वच्छन्द रोशन महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै सकिने गरी तीव्र रुपमा काम भइरहेको जनाएको छ । दुई लेनको सो सडक सडक कालोपत्रे गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्का कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो ।     
    
 तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र हालसम्म करीब ६५ प्रतिशत कार्य सम्पन्न भइसकेको इञ्जिनीयर यादवले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करीब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटोको (यसलाई पदम शमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ ।) रुपमा प्रयोग हुँदै आएको छ ।    
    
 पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीका ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२÷६३ को परिवर्तनपश्चात भारतले नेपाल सरकारबाट छनोट भएका एक हजार ४४० किलोमिटर सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो ।    
    
 सम्झौताअनुसार काम गर्न लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुख हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानको समझदारी भएको थियो । विभिन्न राजनीतिक उतारचढावका कारण हुलाकी सडक निर्माणको कामबीचमै रोकिएको थियो । नेपालले गरेको रेखाङ्कनअनुसार हुलाकी राजमार्गको लम्बाई पूर्वदेखि पश्चिमसम्म एक हजार ७९२ किलोमिटर छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?