logo
२०८१ असोज ९ बुधवार



कोशी क्षेत्रमा हात्ती आतंक,स्थानीय जाग्राम बस्न बाध्य

फिचर |
प्रदेश |


कोशी क्षेत्रमा हात्ती आतंक,स्थानीय जाग्राम बस्न बाध्य


जयकृष्ण यादव 
इनरुवा, पुस २५ गते । सुनसरीमा यसपालि जाडो कम भए पनि कोशी क्षेत्रमा हात्ती आतंक भने कम भएको छैन् । हात्तीको तनाव कायमै रहेकाले विपन्न समुदायको बिचल्ली भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको जंगली हात्तीले शुक्रबार मध्यराती मात्रै कोशी गाउँपालिका ४ मा आतंक मच्चाएको छ ।

हात्तीले मच्चाएर कोशी ४ का स्थानीय अफरोज आलमसहितका घरमा क्षति गरेको छ । जंगली हात्तीले स्थानीय अफजल मियाँ, नसरुद्दीन मियाँ, महरुपा खातुन, गुलाम रसुल, जाकिर मियाँ सहितको घरमा क्षतिसहित संरचनामा तोडफोड गरेको छ ।

हात्तीले घरमा भण्डारण गरेको धान, गहुँ, मकै र चामल खाएर नष्ट गरेको स्थानीय अफरोज आलमले जानकारी दिनुभयो । उता सुनसरीको कोशी क्षेत्रमा एकपछि अर्को जंगली जनावरको आतंक र आक्रमण बढेपछि स्थानीयहरु आन्दोलित बनेका छन् ।

पुस महिनामा मात्रै दुईजनाको ज्यान लिने गरी हात्ती आक्रमण भएको र दर्जन बढी घरमा क्षति गर्नुको साथै बालीमा नोक्सानी गरेकोले स्थानीयहरु संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले संघर्ष समितिले घोषणा गरेको आन्दोलनलाई पूर्ण समर्थन गरेको बताउनुभयो ।

अध्यक्ष अन्सारीले समस्यालाई समाधानका लागि आफूबाट पूर्ण सहयोग हुने बताउँदै प्रत्येक घरबाट आन्दोलनमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । आन्दोलनबाटै संघीय सरकारलाई घचघच्याउने चेतावनी दिर्दै अन्सारीले नटेरे थप आन्दोलनको घोषणा गर्ने बताउनुभयो ।

जंगली जनावर पीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले पीडितहरुको अधिकार प्राप्तिको लागि आन्दोलन सुरु गरेको बताउनुभयो । ज्ञापनपत्र बुझाएको हुँदा मागलाई सम्वोधन गर्न आवश्यक रहेको र माग सम्वोधन नभए आपूmहरु थप आन्दोलन गर्ने चेतावनी दिएको बताउनुभयो ।

हात्तीको विज्ञ टोलीले गरेको निर्णय कार्यान्वयन नभएको हुँदा आफूहरु फेरी आन्दोलनको घोषणा गरेको बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको मकुना हात्तीको आक्रमणबाट मसिर २९ गते कोशी गापा–६ का प्रमोद यादव र पुस १३ गते कोशी–५ का मोती कामेतको निधन भएपछि कोशीका स्थानीयहरुले सुरक्षाको प्रत्याभूतिको महसुस नभएकाले पुनः आन्दोलनको घोषणा गरेका हुन् ।आरक्षबाट निस्केका हात्तीको आक्रमणबाट दश वर्षमा २२ जनाकाे मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?