logo
२०८१ असोज ९ बुधवार



ताप्लेजुङमा चिसो बढ्यो, जनजीवन प्रभावित

फिचर |


ताप्लेजुङमा चिसो बढ्यो, जनजीवन प्रभावित
केही दिनयता हुस्सु र कुहिरोले निरन्तर ढाकिरहेको फुङ्लिङबजार । तस्बिर ः प्रयास ।


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ८ गते । हिमाली जिल्ला ताप्लेजुङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । केही दिनयता मौसममा आएको प्रतिकूलताले चिसो ह्वात्तै बढेको र बढ्दो चिसोका कारण जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
चिसोले सदरमुकाम फुङ्लिङबजारसहित सिङ्गो जिल्लाकै जनजीवन प्रभावित बनेको छ । तीन÷चार दिनयता घाम नलाग्ने तथा हुस्सु र कुहिरोले ढाकिरहने मौसम भएकाले जाडो बढेको स्थानीयको भनाइ छ । निरन्तर चिसो बढ्ने क्रमले हिमाली बस्तीको जनजीवन थप कष्टकर बन्दै गएको बताइएको छ ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप घुन्साका स्थानीय पेमा शेर्पाका अनुसार अहिले चिसो निक्कै बढेकाले घुन्सा, फले, ग्याब्लालगायत हिमाली बस्तीको जनजीवनमा चिसोले नराम्ररी प्रभाव पारेको छ । त्यहाँको बासिन्दा तथा याक, चौंरीजस्ता पशुचौपायामा समेत चिसोले प्रभाव परेको शेर्पाले बताउनुभयो । घुन्सामा मङ्गलबारदेखि रातिदेखि सामान्य हिमपात समेत हुन थालेकाले चिसो निरन्तर बढिरहेको उहाँले बताउनुभयो ।
घुन्सा, फलेसहित फक्ताङ्लुङ गाउँपालिकाकै वडा नं. ७ ओलाङ्चुङगोला र याङ्माको जनजीवन पनि चिसोले प्रभावित बनाएको छ । सामान्य हिउँ पर्नुका साथै बाक्लो हुस्सु र कुहिरो लाग्नाले चिसो अध्यधिक बढेको स्थानीयले बताएका छन् । चिसोका कारण हिमाली गाउँहरुमा वृद्धवृद्धा, बालबालिका र पशुचौपायामा बढी प्रभाव परेको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले बताउनुभयो । उक्त हिमाली गाउँबस्ती तीन हजारदेखि चारहजार २०० मिटरसम्म उचाइमा  छन् ।
यता सदरमुकाम फुङ्लिङबजारमा पनि चिसोले निक्कै सताउन थालेको छ । बढ्दो चिसोका कारण बजारमा मानिसको चहलपहल ह्वात्तै घटेको छ । चहलपहल घटेपछि बजार पसल सुनसानजस्तै बनेका र व्यापार व्यवसाय पनि खस्केको स्थानीय व्यवसायीले बताएका छन् । ताप्लेजुङस्थित जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले पनि चिसो निरन्तर बढिरहेको जनाएको छ । कार्यालयका प्रमुख हीरा भट्टराईका अनुसार बितेको २४ घण्टामा शून्य दशमलव २ मिलिमिटर वर्षा भएको थियो भने बुधबार बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेलसियस मापन भएको थियो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?